अविनाश चौधरी
धनगढी, फागुन ११ गते । छुट मुक्त कमैयाले पुनर्स्थापनाको पहल गर्ने उम्मेदवारलाई आगामी निर्वाचनमा भोट दिने बताएका छन् । कमैया मुक्ति भएको साढे दुई दशक बिते पनि अझैसम्म पुनस्र्थापनाको पर्खाइमा रहेका उनीहरूले गाँस, बास र कपासका लागि पहल गर्ने उम्मेदवारलाई भोट दिने बताएका हुन् । जमिनदारका घरमा मजदुरका रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो ।
कमैया मुक्तिपछि सरकारले मुक्त कमैयाको लगत लिएर उनीहरूको पुनस्र्थापनाको कार्यक्रम अगाडि बढाएको थियो । विविध कारणले छुट भएका, परिचयपत्र पाएर पनि जग्गा पाउन नसकेका, सट्टाभर्ना गर्नुपर्नेलगायतका गरी कैलालीमा करिब एक हजार मुक्त कमैयाको पुनस्र्थापना हुन अझै बाँकी रहेको छ ।
पुनस्र्थापना नहुँदा जङ्गल किनार, खोला तथा नदी किनारमा बस्ती लागेर बस्दै आएका छुट मुक्त कमैयाले अब आफूहरू भोट बैङ्क मात्रै नबन्ने बताएका छन् । चुनाव आएपछि बस्तीमा नेताको दौडधुप बढेको उल्लेख गर्दै कैलारी गाउँपालिका–७, मिलनपुरका दुःखराम चौधरीले अब भोट दिने काम मात्रै नगरी पुनस्र्थापनाको पहलका लागि पनि नेतालाई झकझक्याउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुनस्र्थापनाको आश्वासन दिएर विगतमा धेरै नेता कुर्सीमा पुगे तर हाम्रो अवस्था अझै उस्तै छ । यस पटक हामी उधारो आश्वासन स्विकार्दैनौँ । पुनस्र्थापनाका लागि प्रतिबद्धता चाहन्छौँ । जसले यसका लागि पहल गर्छ, उही उम्मेदवारलाई भोट दिन्छौँ ।”
कैलालीमा नौ हजार ७६२ परिवार मुक्त कमैयाले परिचयपत्र पाएका थिए । जसमध्ये धेरैको परिवारको पुनस्र्थापना भइसकेको छ तर छुट मुक्त कमैयाको भने पुनस्र्थापना बाँकी रहेको छ । पुनस्र्थापना नहुँदा उनीहरूको जीवनयापनमा कठिनाइ रहेको मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीको भनाइ छ । उहाँले यस्ता मुक्त कमैयाको जीविकोपार्जनको एक मात्र माध्यम मजदुरी रहेको उल्लेख गर्नुभयो । धेरै जसो मुक्त कमैया भारतमा मजदुरी गरी जीविका चलाउने गरेको अध्यक्ष चौधरीले उल्लेख गर्नुभयो ।
पुनस्र्थापनासँगै जीविकोपार्जनका लागि मुक्त कमैयालाई रोजगारी बनाउन आवश्यक रहेको बताइएको छ । बेरोजगारीका कारण जीविका चलाउन धौ धौ रहेकाले मुक्त कमैयाका यस्ता समस्या सम्बोधन गर्ने उम्मेदवारलाई आफूहरूले जिताउने मुक्त कमैयाको भनाइ छ । विपत्पुर मुक्त कमैया बस्तीका अमृत चौधरीले मुक्त कमैया बेरोजगार रहेका कारण गुजाराका लागि भारतमा मजदुरी गर्न जानुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अरू कुनै विकल्पै छैन ।”