• ११ फागुन २०८२, सोमबार

अझै पुगेन तीन वडामा सडक

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, फागुन ११ गते । यहाँका तीन वटा स्थानीय तहका तीन वटा वडामा सडक नपुगेपछि जनताले सास्ती पाएका छन् । स्थानीय तहले सरकार सञ्चालन गरेको दुई कार्यकाल बिते पनि बारेकोट गाउँपालिका–३, मुल्साम, नलगाड नगरपालिका–१३, सिउन, जुनीचाँदे गाउँपालिका–७, जुनी बस्तीमा सडक नपुगेपछि जनताले सास्ती पाएका हुन् । 

२०७४ र २०७९ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले बेवास्ता गरेपछि तीन वटा वडामा सडक नपुगेपछि जनतालाई आउजाउ गर्न कठिन भएको छ । सडक नपुगेका तीन वटा वडा सदरमुकामदेखि करिब दुई दिनको पैदल दुरीमा छन् । सशस्त्र द्वन्द्वको आधार इलाका मानिएको जुनीबस्तीमा सडक नपुगेका कारण जनताले सास्ती पाउने गरेका छन् । ती गाउँ सडक सञ्जालसँग नजोडिएका कारण गर्भवती, सुत्केरी महिला, बिरामीलाई स्वास्थ्य संस्थामा पु¥याउन समस्या हुने गरेको छ । स्थानीय उत्पादन तथा बजारका वस्तु सर्वसाधारणले बोकेर लैजाने गरेका छन् । भौगोलिक विकटता, दुर्गम सदरमुकामदेखि दुई दिनको पैदल दुरीका स्थानीय तहका गाउँबस्तीलाई सडक सञ्जालसँग जोड्न स्थानीय तहको लापर्बाही प्रदेश तथा सङ्घीय सरकारको बेवास्ताका कारण यहाँका जनता चिन्तित बनेका छन् । तीन स्थानीय तहका तीन  वडामा अहिले पनि सडकको पहुँच नभएपछि सर्वसाधारणले सास्ती पाएका छन् । 

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका उम्मेदवारले प्रचारप्रसारका क्रममा गाउँमा तत्काल सडक पु¥याउने आश्वासन दिएका छन् । बारेकोट गाउँपालिका–३, दीपेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक भूमिलाल रोकायले स्थानीय सरकारले बजेटको व्यवस्थापन गरेका कारण गाउँमा सडक पुग्न नसकेको बताउनुभयो । सुत्केरी, गर्भवती, महिलालाई प्रसूति गराउन, बिरामीलाई औषधी उपचारका लागि अझै पनि डोको, स्टे«चरमा बोकेर स्वास्थ्य संस्था लैजानु परेको छ । 

चुनावका बेला गाउँमै पैदल हिँडेर पुगेका उम्मेदवारसँग स्थानीयले सडक पु¥याइदिन आग्रह गरेका छन् । नलगाड नगरपालिका–१३, सिउनमा सडक नहुँदा जनताले उत्पादन गरेको स्याउ बजारीकरण गर्न समस्या हुने गरेको छ । जडीबुटी सङ्कलन गरे पनि सडकको पहुँच नपुगेपछि सस्तोमा बिक्री गर्ने गरेका छन् । गाउँमा उत्पादन भएको स्याउ स्थानीय मेलामा सस्तो मुल्यमा बिक्री गर्छन् ।  नलगाड नगरपालिका–१३ का वडाध्यक्ष सेते गिरीले दुई वर्षअघि प्रदेश सरकारबाट खोलीबजार–सिउन सडक निर्माणका लागि आएको बजेट ठेकेदारको लापर्बाहीका कारण काम हुन नसकेको बताउनुभयो ।