• ११ फागुन २०८२, सोमबार

मतदाता शिक्षा घरदैलोमै

blog

शारदा नगरपालिका–२, डाँडागाउँमा मतदातालाई मतदाता शिक्षा सिकाइँदै । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा 

सल्यान, फागुन ११ गते । सल्यानमा प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित घरदैलोमै पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सल्यानले बदर मत न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका ८३ वटै वडामा एक एक जना स्वयंसेवक परिचालन गरेको हो । परिचालित स्वयंसेवकले घर घरमा पुगेर मतदातालाई मतदानसम्बन्धी जानकारी प्रदान गरिरहेका छन् । 

जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्रकुमार चन्दले फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम १७ गतेसम्म सञ्चालन गरिने बताउनुभयो । उहाँका अनुसार स्वयंसेवक वडास्तरमा परिचालित भई घरदैलो तथा टोलस्तरमा मतदाता सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन् । यस पटक मतदाता शिक्षामा डिजिटल सामग्रीको प्रयोगलाई विशेष प्राथमिकता दिइएको छ । जिल्ला निर्वाचन अधिकारी धीरेन्द्र भण्डारीले नमुना मतदानको अभ्यास गराउँदै स्वयंसेवकमार्फत मतदातालाई मतदान प्रक्रिया सिकाइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार मोबाइल तथा सामाजिक सञ्जालमार्फत मतदाता साक्षरता सामग्री प्रवाह गरी सबै मतदातासम्म सही सूचना पु¥याउने लक्ष्य राखिएको छ । सही सूचनाले बदर मत घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

मुख्य निर्वाचन कार्यालय सल्यानका मुख्य निर्वाचन अधिकारी प्रह्लादकुमार गिरीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन लोकतन्त्रको आधार भएकाले बदर मत न्यूनीकरणमा सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो । स्वयंसेवकले मतदानको महत्व, मतपत्रको सही प्रयोग, स्वस्तिक छाप लगाउने तरिका, मतपत्र पट्याउने विधि तथा गोप्य मतदानको प्रक्रियासम्बन्धी व्यावहारिक जानकारी दिइरहेका छन् । शारदा नगरपालिका–२ मा परिचालित स्वयंसेवक विमला शर्माले घर घरमा पुगेर तथा आवश्यकता अनुसार समूहमा भेला गरी मतदातालाई व्यावहारिक अभ्याससहित शिक्षा प्रदान गरिएको बताउनुभयो । 

अघिल्लो प्रतिनिधि सभा निर्वाचन २०७९ मा सल्यानमा एक लाख ५७ हजार ७०१ मतदाता रहेकामा प्रत्यक्षतर्फ ८३ हजार ७०४ मत खसेको थियो । तीमध्ये ७६ हजार ३२८ मत सदर र सात हजार ३७६ मत बदर भएको थियो । समानुपातिकतर्फ ८४ हजार ७८९ मत खसेकामा छ हजार २१५ मत बदर भयो । प्रदेश सभा निर्वाचन २०७९ मा प्रत्यक्षतर्फ चारदेखि छ प्रतिशतसम्म तथा समानुपातिकतर्फ ७.५१ प्रतिशत मत बदर भएको तथ्याङ्क जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

सल्यानमा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको छ । जिल्लामा ११७ मतदान स्थल र २०५ मतदान केन्द्र निर्धारण गरिएका छन् । तीमध्ये ४३ मतदान स्थल अति संवेदनशील श्रेणीमा राखिएका छन् । सम्भावित सुरक्षा चुनौती, भौगोलिक विकटता तथा विगतका अनुभवका आधारमा वर्गीकरण गरिएको जनाइएको छ । यस पटक जिल्लामा कुल एक लाख ६२ हजार ४४९ मतदाता रहेका छन् । तीमध्ये ८३ हजार ३२१ पुरुष र ७९ हजार १२८ महिला छन् । प्रतिनिधि सभा सदस्य पदका लागि १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।