रामकृष्ण बोहरा
बागलुङ, फागुन ११ गते । गत २०७९ सालको संसदीय निर्वाचनमा अधिकांस उम्मेदवारको चुनावी एजेन्डा थियो, ‘बन्द बलेवा विमानस्थल’ सञ्चालन गर्ने । २०७४ ताका केही समय कच्ची धावनमार्गमै विमानले उडान भरेका थिए । २०७८ मा विमानस्थलको टर्मिनल भवन पुनर्निर्माण, धावनमार्ग कालोपत्र गर्नुका साथै त्यसको सुरक्षार्थ काँडेर लगाएपछि एकपटक जहाजले उडान भरेका छैनन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा बागलुङका उम्मेदवारले विमानस्थल सञ्चालनबारे चुनावी एजेन्डा नै बनाएका छैनन् । राज्यको करोडौं खर्च भएको विमानस्थल सञ्चालनबारे उम्मेदवारको प्राथमिकतामा नपरेपछि स्थानीय निराश छन् ।
‘‘विमानस्थल सञ्चालनमा कसैले चासो नदिँदा गुमनाम जस्तै बन्यो’’ बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानका वडा अध्यक्ष चक्रबहादुर खत्रीले भन्नुभयो, ‘‘भएको सम्पत्ति जीर्ण भइरहेको हेर्दा दुःख लाग्छ ।’’
विमानस्थलको धावनमार्ग अहिले जीर्ण बनेको छ । सुरक्षार्थ लगाइएको तारबारमा खिया लागेपछि असुरक्षा बढेको छ । ‘‘करोडौं बजेट खर्चिएर बनेको विमानस्थल उपलब्धीविहिन बन्यो, बनेका संरचना पनि प्रयोग नहुँदै जीर्ण बने, जहाज कहिले चल्छ पत्तो छैन’’ खत्रीले गुनासो गर्दै भन्नुभयो, ‘‘विमानस्थल चलाउन मन्त्रीदेखि सांसदलाई जानकारी गराउँदा पनि सुनुवाइ भएन, अहिले त उम्मेदवारकै एजेण्डा नबनेपछि कसले पहल गर्ला र ।’’ विमानस्थल अहिले हेरालुको भरमा छ ।
बागलुङ क्षेत्र नं. १ मा प्रमुख रानजीतिक दल नेकपा एमालेका हिराबहादुर केसी, नेपाली कांग्रेसका भीम श्रीस, नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनेमार्चाका साझा उम्मेदवार कृष्णप्रसाद शर्मा अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशिल खड्कासहित एघार जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । ठुलादेखि साना राजनीतिक दलका प्रतिवद्वता पत्र बलेवा विमानस्थल सञ्चालनबारे मौन छन् ।
२०२२ सालदेखि बागलुङ नगरपालिका वडा नं. १४ को नारायणस्थानको बलेवा विमानस्थलमा जहाजले उडान भर्न सुरु गरेका थिए । पोखरा–बागलुङ राजमार्ग बनेपछि २०५० सालपछि विमानस्थल बन्द भएको थियो । त्यति बेला सातामा तीन दिनसम्म जहाजले उडान भर्दा पोखरा, भैरहवा र काठमाण्डौंका यात्रुहरुले यात्रा गर्थे । विमानस्थलबाट बागलुङ, पर्वत र म्याग्दीका जनताले हवाई सेवा पाएका थिए ।
चार वर्षअघि विमानस्थल कालोपत्रेपछि एकपटक पनि जहाजले उडान भरेका छैनन् । काष्ठमण्डप उमा एण्ड संयुक्त निर्माण कम्पनी २०७८ को वैशाखमा आठ करोड २४ लाख ३४ हजार रुपियाँको लागतमा बलेवा विमानस्थल कालोपत्रे गरेको थियो । ३० मिटर चौडा र ७ सय मीटर लम्बाइको धावनमार्ग कालोपत्रसहित १ हजार एक सय मीटर मैदान ग्राभेल गरिएको छ । टर्मिनल भवन समेत पुनर्निर्माण गरिएको छ ।
बन्द भएको २६ वर्षपछि २०७४ चैत्र ५ गते तारा एयरको जहाजले परीक्षण उडान भरेको थियो । बागलुङ नगरपालिकाका निवर्तमान नगरप्रमुख जनकराज पौडेलको पालामा नगरपालिकाले जहाजमा १२ सिटभन्दा कम यात्रु भए सिट भारवहन गर्नेगरी नेपाल एयरलाइन्स र तारा एयरसँग नियमित जहाज चलाउन सम्झौता गरेको थियो ।
यात्रु अभावमा नगरपालिकाले आर्थिक भार थेग्न नसकेपछि ३ महिनामै विमानस्थलमा उडान बन्द भएको थियो । नगरपालिकाले प्रारम्भिक चरणमा ६ महिनाको सम्झौता गरेर दुवै एयरलाइन्सलाई अग्रिम १०/१० लाख पेस्की समेत दिएको थियो । केही समयका लागि जहाजका यात्रुलाई बागलुङ बजारदेखि विमानस्थलसम्म पु¥याउन निःशुल्क सुविधासमेत नगरपालिकाले गरेको थियो ।