• ११ फागुन २०८२, सोमबार

जितेपछि घरमा नआएको भन्दै सिके राउतलाई प्रश्न

blog

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले चुनावी प्रचारप्रसारमा व्यस्त

विनय कर्ण
कल्याणपुर (सप्तरी) फागुन ११ गते ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले चुनावको प्रचारप्रसारमा जाँदा अघिल्लो चुनाव जितेर भेट्न घरमा किन नआएको भन्ने मतदाताहरुले प्रश्न उठाउने गरेको बताउनुभएको छ ।

यसअघिको चुनावमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव जित्नु भएका उहाँले दोस्रो पटक यसै क्षेत्रबाट उम्मेदवार भएर प्रचारप्रसारका लागि मतदाताको घरमा जाँदा यस्तो प्रश्न उठाउने गरेको बताउनुभएको हो ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा ३५ हजार ४२ मत ल्याएर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै सप्तरी २ बाट उहाँ विजयी हुनुभएको थियो । उक्त निर्वाचनमा जसपा नेपालका यादव १८ हजार ६३ मत ल्याएर पराजित हुनु भएको थियो ।

“२०७९ को चुनाव जितेर गएपछि हाम्रो घरमा किन भेटन आउनु भएन ? मतदाताले प्रश्न गर्दै हामीले गाँसेर राखेको फुलमाला खेर गयो सुनाउँछन्” डा. राउतले भन्नुभयो ।

विगतको चुनावपछि टोलमा गएको तर मतदाताहरुको घर–घरमा पुग्न नसकेको जवाफ मतदातालाई फर्काउनु पर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो ।

प्रचारप्रसारका क्रममा मतदाताले यसअघिको चुनाव जितेर के कति विकास गरेको प्रश्न पनि गरिरहेको सुनाउनुहुँदै प्रत्येक वडामा कम्तिमा १० वटा विकासिय योजना ल्याएको मतदाता माझ राख्ने गरेको डा राउतले बताउनुभयो ।

“सप्तरी निर्वाचन क्षेत्रमा रहेको ३७ वटा वडा मध्ये प्रत्येक वडामा जनताले माग गरे अनुसार कम्तिमा १० वटा योजना ल्याएको छु” उहाँले भन्नुभयो । जनताले घरमा भेटन किन नआएको भनी प्रश्न गर्नु उहाँहरुले मलाई माया गरेर यस्तो भन्ने गरेको उहाँले धारणा राख्नुभयो ।