• ११ फागुन २०८२, सोमबार

निर्वाचन सुरक्षाका लागि बैतडीमा मदिरा नियन्त्रण

blog

जिल्ला प्रशासन कार्यालय बैतडी ।

केशब राज भट्ट 
वाशुलिङ बैतडी, फागुन ११ गते ।
प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भय रहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले बैतडी जिल्लामा मदिरा जन्य वस्तुको उत्पादन, ओसारपसार, बिक्री वितरण र उपभोगमा कडाइ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार मदिरा व्यवसायीहरू सँग छलफल गरी आइतबारदेखि लागू हुने गरी बेलुकी ७ बजेसम्म मात्र मदिरा बिक्री वितरण गर्न पाइने निर्णय गरिएको छ । निर्वाचन अवधि भर शान्ति–सुरक्षा सुदृढ बनाउन यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।

त्यसैगरी, सोमबारदेखि फागुन २४ गतेसम्म मदिरा जन्य पदार्थको ढुवानी तथा ओसार पसार नगर्न निर्देशन दिइएको छ । साथै निर्वाचनको मौन अवधिमा मदिरा जन्य वस्तुको उत्पादन, बिक्री वितरण तथा उपभोग पूर्ण रूपमा निषेध गरिने सूचनामा उल्लेख गरिएको छ ।

निर्देशनको उल्लङ्घन गरी मदिरा जन्य पदार्थको उत्पादन, ओसार पसार, बिक्री वितरण वा उपभोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ ।