• ११ फागुन २०८२, सोमबार

राजनीतिमा अगाडि, विकासमा पछाडि

blog

मुगा गाउँवासी ।

कविराज घिमिरे 

हिले, फागुन ११ गते । चुनाव नजिकिएसँगै धनकुटाको मुगामा उम्मेदवारको आउजाउ बाक्लिएको छ । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि मुगाली मतदातालाई फकाउन उम्मेदवार पालैपालो मुगामा चुनावी अभियान र घरदैलो गर्दै पुग्ने गर्नुभएको छ । मुगाको समस्यालाई आधार बनाएर भोट माग्ने गर्नुभएको छ तर मुगाले उम्मेदवारसँग आस गर्न छाडिसकेका छन् । 

धनकुटाको मुगा पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको जन्म गाउँ हो । २०६४ सालयता तत्कालीन मुगा गाविसबाटै संविधान सभा तथा प्रतिनिधि सभामा प्रतिनिधित्व भए पनि विकास नहुँदा मुगा धेरै पछि परेको मुगाली जनताको बुझाइ छ । राजनीतिक रूपमा मुगा धनकुटा जिल्ला मात्र नभई नेपालकै अगाडि रहे पनि विकास, स्वास्थ्य, शिक्षालगायतको कुरामा धेरै पछि परेको पाख्रीवास नगरपालिका–८, मुगाका सूर्य राई बताउनुहुन्छ । यो चुनाव र अहिलेका उम्मेदवारले जितेर गए पनि मुगाका लागि केही गर्छन् कि भन्ने आसमा आफूहरू नरहेको उहाँको भनाइ छ । 

मुगाले अहिले पनि धनकुटाको राजनीतिमा निकै पहुँच राख्छन् । तत्कालीन मुगा गाविसलाई आधार मान्ने हो भने २०६४ सालयताका संविधान सभा तथा प्रतिनिधि सभामा निर्वाचनमा यही क्षेत्रले धनकुटाको प्रतिनिधित्व गर्दै आएको छ । संविधान सभा तथा प्रतिनिधि सभामा निर्वाचित सुनीलबहादुर थापा तथा राजेन्द्र राई यही क्षेत्रबाट प्रतिनिधित्व गरिरहनु भएको छ । राजेन्द्र राई दुई पटक प्रतिनिधि सभामा विजयी भइसक्नुभएको छ । 

त्यस्तै सुनीलबहादुर थापा भर्खरै मात्र राष्ट्रिय सभामा निर्वाचित हुनुभएको छ । कोशी प्रदेश सभा सदश्य इन्दिरा थापा पनि मुगाबाटै हुनुहुन्छ । अहिले पनि जिल्लाको राजनीतिमा प्रत्येक दलमा मुगाकै वर्चस्व छ । नेपाली कांग्रेसको नेता सुनीलबहादुर थापा, इन्दिरा थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कुमार थापा जनता समाजवादी पार्टी नेपालका नेता अर्जुन थापा यही स्थानबाट हुनुहुन्छ । 

पटक पटक यही क्षेत्रका उम्मेदवार विजयी भए पनि उहाँहरूले विकासका लागि कुनै चासो नदिएको स्थानीय टेकबहादुर राई गुनासो गर्नुहुन्छ । सूर्यबहादुर थापाको पालामा त्यो बेलाको गोरेटो घोरेटो, मठमन्दिर, खानेपानी, आदिको राम्रो विकास भए पनि त्यसपछि भने मुगाले विकास देख्न नपाएको स्थानीय चन्द्रमणि घिमिरे बताउनुहुन्छ । “थापा काजीको पालामा त्यो बेलाको विकास भरपूर भएको हो, त्यो बेला सडकका कुरा थिएनन् गोरेटो घोरेटोको कुरा हो त्यो धेरै राम्रो थियो,” घिमिरे भन्नुहुन्छ । अहिले चैँ मुगा विकासमा पछि परेको छ, उहाँ थप्नुहुन्छ । 

राजनीतिमा अगाडि, विकासमा पछि त्यसो त अहिले पनि मुगाका धेरै स्थान स्वास्थ्य, शिक्षा, सडक पहुँचबाट निक्कै टाढा छ । रोजगारी र सुविधाको खोजीमा बसाइँ सर्नेको लर्को पनि उत्तिकै छ । पहिले धेरै नै चहलपहल हुने मुगा अहिले प्रायः सुनसान हुन्छ । करिब तीन दशकअघि ट्र्याक खोलिएको पाख्रीवास–मुगा–सुनबालुवा सडक अहिलेसम्म कालोपत्रे हुने सकेको छैन । मुगावासीले हिउँदमा धुलो र बर्खामा हिलोको सामना गर्नु त पर्छ नै बर्खाको समयमा बिरामी पर्दा एम्बुलेन्स गाउँ पुग्ने अवस्था छैन । बिरामी बोकेरै पाख्रीवास निकाल्नुपर्ने अवस्था रहेको स्थानीय थामबहादुर राई बताउनुहुन्छ । उर्वर भूमि छ तर खेतीपातीका लागि बर्खाको पानीमा भर पर्नुपर्ने अवस्था छ । खानेपानीको समेत अवस्था निक्कै नाजुक छ । 

नेताहरू चुनावका बेला यिनै विषय उठान गरी भोट माग्न आउने तर जितेर गएपछि जनताका सुखदुःखबाट टाढा हुने गरेको आरोप उनीहरूको छ ।