• ११ फागुन २०८२, सोमबार

सुर्खेतमा डिजेल र पेट्रोल भण्डार बनाइने

blog

नेपाल आयल निगम सुर्खेतको इन्धन डिपो । तस्बिर : ललित बसेल

ललित बसेल

सुर्खेत, फागुन ११ गते । सुर्खेतमा कर्णाली प्रदेशस्तरीय डिजेल र पेट्रोलको भण्डारण डिपो बनाउने तयारी थालिएको छ ।  नेपाल आयल निगमले कर्णाली प्रदेशको सुर्खेत कार्यालयपरिसरभित्रै करिब १४ करोड रुपियाँ लागतमा प्रदेशस्तरीय डिपो बनाउने गरी बोलपत्र आह्वान गरेको छ । 

नेपाल आयल निगम कर्णाली प्रदेशस्तरीय कार्यालय सुर्खेतका वरिष्ठ सहायक माधवप्रसाद भट्टले २०८४ सालभित्र डिपो निर्माण गरिसक्ने गरी टेन्डर आह्वान भएको जानकारी दिनुभयो । 

अहिले सुर्खेतमा हवाई इन्धन र मटितेल मौज्दात राख्ने डिपो भए पनि डिजेल र पेट्रोल भण्डारण गर्ने डिपो छैन । जसका कारण नेपालगन्जबाट ट्याङ्कीमा ल्याएर सोही दिन नै डिलरलाई बिक्री गर्नुपर्ने अवस्था छ । अहिले कार्यालयमा मटितेल ४५ हजार लिटर र हवाई इन्धन ६० हजार लिटर मात्रै भण्डार हुने गर्छ । प्रस्तावित इन्धन भण्डार डिपोमा दुई लाख ८० हजार लिटर डिजेल र एक लाख ४० हजार लिटर पेट्रोल भण्डारण हुने क्षमताको बन्ने भट्टले बताउनुभयो । अहिले कार्यालयपरिसर रहेको एक बिघा क्षेत्रफलभित्रै नयाँ डिपो बनाउने तयारी रहेको उहाँले बताउनुभयो । 

अहिले सुर्खेत कार्यालयबाट दैनिक एक लाख लिटर डिजेल र ६० हजार लिटर पेट्रोल खपत हुने गर्छ । कार्यालयले सल्यानबाहेक कर्णालीका सबै जिल्लाका पेट्रोल पम्पलाई इन्धन उपलब्ध गराउँछ । प्रदेशस्तरीय इन्धन भण्डारण डिपो निर्माण भएपछि यस क्षेत्रका इन्धन वितरणका साथै केही दिन अभाव भए पनि अभाव पूर्ति गर्न सहज हुने उहाँले जनाउनुभयो । 

अहिले निगमको नेपालगन्ज कार्यालयबाट आवश्यकता अनुसार ट्याङ्करमार्फत इन्धन ढुवानी गर्ने गरिएको छ । जुन दिन इन्धन ल्याइन्छ, त्यसैदिन यहाँको इन्धन डिपोलाई बिक्री गर्ने गरिएको वरिष्ठ सहायक भट्टले बताउनुभयो ।