हरिप्रसाद कोइराला
उर्लाबारी, फागुन ११ गते । राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा कोशी प्रदेशको राजधानीसमेत रहेको विराटनगरको औद्योगिक ताज फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन् । तर ती प्रतिबद्धता कार्यान्वयनमा भने शङ्का छ ।
विराटनगर महानगरपालिकाका १९ वटा वडालाई तीन संसदीय निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । तीन वटै निर्वाचन क्षेत्रमा विराटनगरको विकास र समृद्धिसँग जोडिएका ठुला ठुला आयोजना छन् । ती आयोजना निर्वाचनको बेला सधैँ दलहरूको प्राथमिकतामा पर्छन् । तर सरकार बनेपछि सबै आयोजना क्रमशः सुस्ताउँछन् ।
गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला
मोरङ–४ मा विराटनगर महानगरका वडा नं. १, २, ३, ८, १० र १९ नम्बर वडा पर्छन् । १९ नं. वडामा पर्ने सधैँ चर्चामा रहने गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छ । यो रङ्गशाला कोशी प्रदेशको सरकारी स्तरको एक मात्र क्रिकेट मैदान हो । २०५४ सालमा बहुउद्देश्यीय रङ्गशाला बनाउने योजनाका साथ तत्कालीन सरकारले २०५५ मा यो जग्गा अधिग्रहण ग¥यो । त्यसपछि सातौँ राष्ट्रिय खेलकुद आयोजनाका क्रममा त्यहाँ क्रिकेट खेल आयोजना गर्न पिच तयार गर्ने काम सम्पन्न भयो । त्यसयता कुनै ठोस काम भएको छैन । स्थानीय, प्रदेश सरकारको बजेट आए पनि ती बजेटबाट उल्लेखनीय काम नभएको मोरङका क्रिकेट प्रशिक्षक र खेलाडीको गुनासो छ । प्रदेश स्तरीय ठुला प्रतियोगितासमेत आयोजना भइसकेको क्रिकेट मैदान मर्मतमै वार्षिक तीन लाखभन्दा बढी खर्च हुन्छ । तर बजेट छैन । मेघा प्रोजेक्ट हो । अर्बौं पैसा चाहिन्छ । टुक्राटुक्री बजेट आउँछ । त्यो टालटुलमै सकिन्छ ।
जिल्ला क्रिकेट सङ्घ मोरङका अध्यक्ष मोहम्मद सादबाबु कुरेसीले सामाजिक विकास मन्त्रालयले दिएको एक करोड रुपियाँको बजेटबाट समेत काम सम्पन्न गर्न नपाएको बताउनुभयो । उहाँका अनुसार कोभिडअघि कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले एक करोड रुपियाँ विनियोजन गरेको थियो । पवेलियन रुमसहितको चारतले भव्य भवन बनाउन थालेको क्रिकेट सङ्घले काम बिचमै रोक्नु प¥यो । कोभिडको बहानामा काम रोकिएपछि उक्त आयोजना अहिले अलपत्र छ ।
बहुउद्देश्यीय खेल मैदानको अवधारणा अनुसार खरिद गरिएको १५ बिघा १० कट्ठा जग्गामा टेनिस कोर्ट र सुटिङ हल (सुटिङ खेल्ने घर) समेत निर्माण भइसकेका छन् । ती दुवै अहिले संरक्षणको पर्खाइमा छन् । क्रिकेट मैदान वरिपरि घेरिएको भए पनि खेलमैदानको अरू जग्गा गौचरण बनेको छ । बिहानदेखि साँझसम्म स्थानीयवासीले गाईभैँसी, बाख्रा चराउने गरेका छन् ।
विराटनगर औद्योगिक क्षेत्र
महानगरका वडा नं. १३ देखि १८ सम्म निर्वाचन क्षेत्र नं. ५ मा पर्छ । तत्कालीन विराटनगर उपमहानगरपालिकाको वडा नं. २०, हाल विराटनगर महानगरको वडा नं. १६ भएको छ । यही वडामा मिल्स एरिया नाम गरेको ठुलो औद्योगिक क्षेत्र छ । सरकारी स्वामित्वको त्यस क्षेत्रमा विराटनगर जुट मिल्स, जुद्ध म्याच फ्याक्ट्री, मोरङ सुगर मिल, विराटनगर प्लाई उद्योग, गणपति कटन मिल्स र नेपाल विद्युत् प्राधिकरणको क्षेत्रीय भण्डार केन्द्रलगायत थुप्रै सरकारी उद्योग थिए । अहिले त्यो औद्योगिक क्षेत्र नाम मात्रको छ । सबै उद्योग बन्द छन् । मजदुर र कर्मचारी छैनन् । वडा नं. १८ का वडाध्यक्ष उद्धव भुजेलका अनुसार ती उद्योगमा झन्डै १० हजार मजदुर र कर्मचारीले काम गर्थे । भुजेल विगत सम्झिँदै भन्नुहुन्छ, “बिहान उद्योगमा काम गर्न जाने र साँझ घर फर्किने मजदुरको ताँती विराटनगरसम्म हुन्थ्यो । केही मजदुर भारतबाट पनि आउँथे ।” तर अहिले झन्डै ९० बिघामा फैलिएको मिल्स एरिया विराटनगर सुनसान भएको छ ।
२०५० को दशकसम्म विराटनगर नेपालको प्रमुख औद्योगिक सहरको सूचीमा पहिलो नम्बरमा थियो । औद्योगिक रूपमा मात्र होइन, विराटनगरले नेपालको लोकतान्त्रिक व्यवस्थाको जग बसायो । प्रजातन्त्र रेडियोको रूपमा पहिलो रेडियो यहीँ स्थापना भयो । पाँच जना प्रधानमन्त्री जन्मायो । तर त्यही विराटनगरको आर्थिक विकास भने विराम लागेजस्तै भएको छ ।
विराटनगर विमानस्थल
महानगरका ४, ५, ६, ७, ९, ११ र १२ नम्बर वडा निर्वाचन क्षेत्र नं. ६ मा पर्छन् । दलहरूले नै विराटनगर विमानस्थल विस्तार गर्नुपर्ने मागसहित कार्यक्रम बनाएपछि सरकारले २०७७ कात्तिक २७ गते विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्ने निर्णय ग¥यो । सोही अनुसार २०७७ फागुन १८ गते विमानस्थल वरिपरिका ८०९ जना स्थानीयवासीको एक हजार २६७ कित्ताको १२६.४६ बिघा जग्गा रोक्का गरियो ।
विस्तार क्षेत्रको ‘बेन्चमार्क’ तयार गरेर अधिग्रहण गर्नुपर्ने जग्गाको सीमाङ्कन र रेखाङ्कन सकिएको थियो । मुआब्जा निर्धारण गर्न मोरङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाको संयोजकत्वमा उपसमिति बन्यो । उपसमितिले मुआब्जा निर्धारणको कामसमेत करिब अन्तिम चरणमा पु¥याएको थियो । तर मुआब्जा पर्खिएका जग्गाधनीले दुई वर्षको बजेट कुर्दा पनि सरकारले बजेटमा मुआब्जालाई सम्बोधन गर्न सकेन । छिमेकी देश भारत र प्रदेशका लागि माउन्टेन फ्लाइट, अन्तरप्रादेशिक उडान भर्ने वातावरणका लागि व्यवसायीले विगत १५ वर्षदेखि विमानस्थल विस्तारको माग राख्दै आएका थिए । तर महानगर र पर्यटन व्यवसायीले राखेको विमानस्थल विस्तारको योजना मुआब्जा वितरण गर्न नसकेपछि तुहियो ।
पर्यटन तथा होटल व्यवसायी वासुदेव बराल भन्नुहुन्छ, “प्रदेश राजधानी रहेको विराटनगरबाट १४ जिल्लालाई जोड्ने विमानस्थलको पूर्वाधार विस्तार गर्दा मात्रै पर्यटन क्षेत्रले प्रत्यक्ष लाभ लिन सक्ने थियो । भारतका दिल्ली, कोलकाता, गुवाहाटी, बङ्गलादेश र भुटानसँग समेत उडान भर्ने गरी विमानस्थल विस्तार गर्न सके नेपालीले पश्चिम बङ्गालको बागडुग्रा र बिहारको पटना, पुर्णिया गइरहनुपर्ने थिएन ।”
नेपाली कांग्रेसले मोरङ क्षेत्र नं. ४ मा पार्टीका महामन्त्री गुरुराज घिमिरेलाई उम्मेदवार बनाएको छ । पार्टीका क्षेत्रीय सभापति विनोद बस्नेतले विराटनगरको पुरानो साख फर्काउन गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई पूरा गर्ने, विराट् राजाको प्राग्ऐतिहासिक दरबारको पुनर्निर्माण गर्ने, थारू सङ्ग्रहालय निर्माण गर्नेलगायत प्रतिबद्धता घोषणापत्रमा उल्लेख भएको बताउनुभयो ।
नेकपा (एमाले) का उम्मेदवार जीवन घिमिरेले आफ्नो घोषणापत्रमा बथनाहा–कटहरी रेलवे सञ्चालन, कोभिड अस्पताल स्तरोन्नति, विराट् राजाको दरबार पुनर्निर्माण, विराटनगर रिङरोड निर्माण र गिरिजाप्रसाद कोइराला किकेट रङ्गशाला निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
मोरङ ५ का कांग्रेस उम्मेदवार फूलकुमार लालवानीले भन्नुभयो, “औद्योगिक क्षेत्रलाई पुनः सञ्चालन, नयाँ उद्योग स्थापनाको वातावरण तयार गर्ने र रोजगारी सिर्जना गर्ने पार्टीको घोषणापत्रमा उल्लेख गरेका छौँ ।” मिल्स एरियाको मनता मन्दिरको जीर्णोद्धारलगायत थुप्रै कामलाई पार्टीले प्राथमिकतामा राखेको लालवानीको भनाइ छ । नेकपा (एमाले) का उम्मेदवार मनोजकुमार अग्रवालले पनि विराटनगरको औद्योगिक क्षेत्रलाई पुनः सञ्चालन गर्न र नयाँ उद्योग स्थापना गर्न पहल गर्ने प्रतिबद्धता घोषणापत्रमा उल्लेख गरेको बताउनुभयो । यस क्षेत्रमा जनता समाजवादी पार्टीले खिया लागेको औद्योगिक क्षेत्रमा प्राण भरेर पाँच/सात हजार रोजगारी सिर्जना गर्ने नयाँ उद्योग सञ्चालनसहितको प्रतिबद्धता ल्याएको छ । पार्टीका उम्मेदवार राजकुमार यादवले भन्नुभयो, “लगानीको वातावरण बनाउनु मुख्य विषय हो । पार्टीले नयाँ उद्योग खोल्ने वातावरण तयार गर्ने छ ।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आशा झाले विराटनगर औद्योगिक क्षेत्रलाई पुनः सञ्चालन गरी रोजगारी सिर्जना गर्ने प्रतिबद्धता पार्टीले गरेको बताउनुभयो । नेकपाका उम्मेदवार शिवकुमार मण्डलले पार्टीले लगानीमैत्री वातावरण बनाउने बताउनुभयो । सुरक्षित लगानीको वातावरण भए औद्योगिक क्षेत्र निर्माण गर्न सकिन्छ । अस्थिरताले समस्या भएको हो । पार्टीले विराटनगर औद्योगिक क्षेत्र पुनः सञ्चालनका लागि विशेष पहल गर्ने उहाँले बताउनुभयो ।
मोरङ–६ मा नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालालाई उम्मेदवार बनाएको छ । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेले भन्नुभयो, “विराटनगरको ऐतिहासिक साख फर्काउन कांग्रेसले केही काम थालेको थियो । तर सरकार स्थिर नहुँदा कुनै पनि योजना पूरा भएनन् । विराटनगर विमानस्थल स्तरोन्नति, औद्योगिक क्षेत्र पुनः सञ्चालन र गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला यहाँका मेघा प्रोजेक्ट हुन् । यी तीन वटै कार्यक्रमलाई कांग्रेसले प्राथमिकताका साथ घोषणापत्रमा राखेको छ ।
एमाले मोरङ सचिव सोमराज थापाले महानगरमा पर्ने तीन वटा निर्वाचन क्षेत्रले आआफ्नो प्रतिबद्धतापत्रमा तीन वटै मेघा प्रोजेक्टलाई प्राथमिकतामा राखेको बताउनुभयो ।