अर्जुन काफ्ले
स्याङ्जा, फागुन १० गते । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री स्याङ्जा आइपुगेको छ । निर्वाचन आयोग मार्फत जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतदान सञ्चालन गर्न आवश्यक मतपत्र, मतपेटिका, छाप, स्ट्याम्प प्याड, मतदाता नामावलीलगायत ५१ प्रकारका सामग्री जिल्लामा आएको हो ।
सामग्री प्राप्त भएसँगै वितरण र व्यवस्थापनको कामलाई तीव्रता दिइएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला निर्वाचन अधिकृत श्रीराम थापाले जानकारी दिनुभयो । अब मतदान केन्द्रसम्म सामग्री पुर्याउने तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
यहाँ १९९ मतदान स्थल र ३२ मतदान केन्द्र तोकिएका छन् भने ५६ वटा केन्द्रलाई अति संवेदनशील, ७१ वटालाई संवेदनशील र ७२ वटालाई सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । अघिल्लो निर्वाचनको तुलनामा यस वर्ष दुई वटा मतदान केन्द्र थपिएको प्रमुख थापाले बताउनुभयो ।
जिल्ला कारागार स्याङ्जामा रहेका कैदीबन्दीका लागि एक अस्थायी मतदान स्थलको पनि व्यवस्था मिलाइएको छ । विगतका गतिविधि, भौगोलिक अवस्था, सडक पहुँच र पूर्वाधारको स्थितिलाई आधार मानेर सुरक्षा संवेदनशीलता निर्धारण गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो ।
मतदान स्थलहरूमा आवश्यक मर्मत, खानेपानी व्यवस्थापन र तारबारको काम सम्बन्धित वडाध्यक्षमार्फत भइरहेको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी अर्यालले निष्पक्ष र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको उल्लेख गर्दै शान्ति सुरक्षामा कुनै कमजोरी हुन नदिइने बताउनुभयो ।
यस्तै अति संवेदनशील र संवेदनशील केन्द्रहरूमा अतिरिक्त सुरक्षा बल परिचालन गरिने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त छन् । क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १२ जना र क्षेत्र नं. २ मा दुई स्वतन्त्रसहित १२ जना प्रतिस्पर्धामा छन् ।
यहाँ दुई लाख ४८ हजार ८१६ मतदाता रहेका छने भने एक लाख २२ हजार ४६४ जना पुरुष र एक लाख २६ हजार ३५१ जना महिला मतदाता रहेका छन् । यसका अतिरिक्त अन्य समूह अन्तर्गत एक जना मतदाता पनि नामावलीमा समावेश छन् ।