प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन १० गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सल्यानमा घरदैलोमै पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सल्यानले बदर मत न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका ८३ वटै वडामा एक-एक जना स्वयंसेवक परिचालन गरेको जनाएको छ। परिचालित स्वयंसेवकहरूले घर-घरमा पुगेर मतदातालाई मतदानसम्बन्धी जानकारी प्रदान गरिरहेका छन्।
जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्र कुमार चन्दले फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम १७ गतेसम्म सञ्चालन गरिने वताउन’भयो । उहाँका अनुसार स्वयंसेवकहरू वडास्तरमा परिचालित भइ घरदैलो तथा टोलस्तरमा मतदाता सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन्।
यस पटक मतदाता शिक्षामा डिजिटल सामग्रीको प्रयोगलाई विशेष प्राथमिकता दिइएको छ। जिल्ला निर्वाचन अधिकारी धिरेन्द्र भण्डारीले नमुना मतदानको अभ्यास गराउँदै स्वयंसेवकमार्फत मतदातालाई मतदान प्रक्रिया सिकाइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार मोबाइल तथा सामाजिक सञ्जालमार्फत मतदाता साक्षरता सामग्री प्रवाह गरी सबै मतदातासम्म सही सूचना पुर्याउने लक्ष्य राखिएको छ। सही सूचना अभावमा बदर मत बढ्ने सम्भावना रहने भएकाले डिजिटल माध्यम प्रभावकारी हुने विश्वास गरिएको छ।
मुख्य निर्वाचन कार्यालय सल्यानका मुख्य निर्वाचन अधिकारी प्रल्हाद कुमार गिरीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन लोकतन्त्रको आधार भएकाले बदर मत न्यूनीकरणमा सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।
स्वयंसेवकहरूले मतदानको महत्त्व, मतपत्रको सही प्रयोग, स्वस्तिक छाप लगाउने तरिका, मतपत्र पट्याउने विधि तथा गोप्य मतदानको प्रक्रिया सम्बन्धी व्यवहारिक जानकारी दिइरहेका छन्। शारदा नगरपालिका–२ मा परिचालित स्वयंसेवक विमला शर्माले घर–घरमा पुगेर तथा आवश्यकताअनुसार समूहमा भेला गरी मतदातालाई व्यावहारिक अभ्याससहित शिक्षा प्रदान गरिएको बताउनुभयो।
अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०७९ मा सल्यानमा एक लाख ५७ हजार ७०१ मतदाता रहेकामा प्रत्यक्षतर्फ ८३ हजार ७०४ मत खसेको थियो। तीमध्ये ७६ हजार ३२८ मत सदर र ७ हजार ३७६ मत बदर भएका थिए, जुन कुल खसेको मतको ८.८१ प्रतिशत हो। समानुपातिकतर्फ ८४ हजार ७८९ मत खसेकामा ६ हजार २१५ मत बदर भएको थियो। प्रदेशसभा निर्वाचन २०७९ मा प्रत्यक्षतर्फ ४ देखि ६ प्रतिशतसम्म तथा समानुपातिकतर्फ ७.५१ प्रतिशत मत बदर भएको तथ्याङ्क जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
सल्यानमा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ। जिल्लामा ११७ मतदान स्थल र २०५ मतदान केन्द्र निर्धारण गरिएका छन्। तीमध्ये ४३ मतदान स्थल अति संवेदनशील श्रेणीमा राखिएका छन्। सम्भावित सुरक्षा चुनौती, भौगोलिक विकटता तथा विगतका अनुभवका आधारमा वर्गीकरण गरिएको जनाइएको छ।
यस पटक जिल्लामा कुल एक लाख ६२ हजार ४४९ मतदाता रहेका छन्। तीमध्ये ८३ हजार ३२१ पुरुष र ७९ हजार १२८ महिला छन्। प्रतिनिधिसभा सदस्य पदका लागि १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।