• १० फागुन २०८२, आइतबार

निर्वाचनमा पारदर्शिता र युवाको सक्रियताबारे अन्तरपुस्ता संवाद

blog

गैर सरकारी संस्था महासङ्घ नेपालले तौलिहवामा आयोजना गरेको अन्तरपुस्ता संवाद कार्यक्रम । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा(कपिलबस्तु), फागुन १० गते । सुशासन, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रक्रिया तथा नवयुवाको सहभागिता सम्बन्धी अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ । गैर सरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखा कपिलवस्तुको आयोजनामा भएको कार्यक्रममा  युवा, अपाङ्गता भएका व्यक्ति लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा आचारसंहिताबारे जानकारी दिँदै सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले तोकिएको समयबाहेक प्रचारप्रसार गर्न नपाइने स्पष्ट पार्दै आचारसंहिता उल्लङ्घन सम्बन्धी सूचना प्रशासनलाई उपलब्ध गराउन आग्रह गर्नुभयो ।

उहाँले अपाङ्गता भएका, ज्येष्ठ नागरिक तथा हिँडडुल गर्न असमर्थ मतदातालाई मतदानका दिन सहजीकरण गरिने जानकारी दिनुभयो । उम्मेदवारले प्रयोग गर्ने सवारी साधनको आवश्यक चेकजाँच गरिने र विशेष अवस्थाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्फत पास उपलब्ध गराइने व्यवस्था रहेको उहाँको भनाइ छ ।

निर्वाचनमा आर्थिक चलखेल नियन्त्रण र मतदाता शिक्षा प्रभावकारी बनाउनेतर्फ प्रशासन सक्रिय रहेको जनाउँदै उहाँले स्वयंसेवक परिचालन गरी गाउँगाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।

महासङ्घकी लुम्बिनी प्रदेश अध्यक्ष जितकुमारी बेलबासेले सुशासन र पारदर्शिता कायम गर्न युवापुस्ताको सचेत र सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो । लोकतान्त्रिक अभ्यास सुदृढ बनाउन युवा सहभागिता अपरिहार्य रहेको उहाँको भनाइ छ ।

सङ्घका अध्यक्ष जय प्रकाश पाण्डेले नागरिक सचेतना अभिवृद्धि र स्वच्छ निर्वाचनका लागि यस्ता संवाद कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन रामशरण रैदासले गर्नुभएको थियो भने स्वागत मन्तव्य रामेन्द्र सिहं रावलले व्यक्त गर्नुभएको थियो ।