टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), फागुन १० गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आवश्यक ३६ प्रकारका निर्वाचन सामग्री निर्वाचन कार्यालयलाई उपलब्ध गराएको छ । खाद्यले देशभरका अधिकांश निर्वाचन कार्यालयसँग सम्झौता गरी निर्वाचनका लागि आवश्यक बिभिन्न सामग्रीहरू उपलब्ध गराइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गुल्मीको शाखा प्रमुख लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लाहा, पुसपिन, पोलबुक, मार्कर, स्केल, स्ट्यापलर मेसिन, स्ट्यापलर पिन, कैंची, ग्लुस्टिक, सोसर, पङ्गचिङ मेसिन, परिचयपत्र कार्ड, कार्ड होल्डर, डोरी, भित्रबाहिर लेखिएको कार्ड, महिला पुरुष लेखिएको कार्ड कार्यालयलाई उपलब्ध गराइएको छ । त्यस्तै मतदाता क्रम सङ्ख्या लेखिएको कार्ड, मतदान केन्द्र लेखिएको कार्ड, प्लास्टिक थैली, प्लास्टिक बोरा, प्लास्टिक सुल्ती, प्याकिङ्ग टेप पनि निर्वाचन कार्यालयलाई उपलब्ध गराइएको छ ।
नेपाली कागजको खाम, निबिदा मतपत्र राख्ने कपडा भएको नेपाली कागजको खाम, सेतो एफोर पेपर, रेकर्ड फाइल , धागो, सियो, खाप्सियो, फलाटिन कपडा, सलाइ, कोरा कपडा, कोरा कपडा थैली, कालो जेल पेन, रातो जेल पेन, मैनबत्ति उपलब्ध गराइएको खाद्य कम्पनीका सूचना अधिकारी राजाबाबु साहले जानकारी दिनुभयो । व्यापार विविधिकरणको राष्ट्रिय रणनीति अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काम गरिरहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिभिन्न खाद्य बस्तु बिक्री वितरण गर्दै आइरहेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गुल्मीका अनुसार गुल्मीका चार पालिकाका पाँच स्थानबाट खाद्य व्यापार भइरहेको छ । गुल्मीको शाखा कार्यालय रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडामा रहेको छ । त्यस्तै बिक्री केन्द्रहरु तम्घास, रूरूक्षेत्रको बलेटक्सार, मदानेको बाँझकटेरी र मालिकको अर्खवाङ्गमा रहेको छन् । जिल्लामा हाल स्टिम जिरा मसिनो चामल, साँवा चामल, सोना मन्सुली चामल, मोटा चामल, भिटामिन युक्त (पौष्टिक तत्व स्तरोन्नति गरिएको) चामल र चिनी बिक्री वितरण भइरहेको छ ।
जिल्ला निर्वाचन कार्यालय गुल्मीका प्रमुख निर्वाचन अधिकारी क्रृषिराम घिमिरेले मतपेटिका जिल्लामा रहेकाले अरु सामग्री खाद्य मार्फत खरिद गरिएको बताउनुभयो । गुल्मीमा मतपत्र पनि आइसकेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि निर्वाचनमा १७ सयभन्दा बढी कर्मचारी परिचालन हुने भएका छन् । जिल्लाका २८६ मतदान केन्द्रमा एक हजार ७१६ जना कर्मचारी परिचालन गरिने छ । निर्वाचनका लागि २८६ मतदान अधिकृत, २८६ सहायक मतदान अधिकृत, प्रति मतदान केन्द्रमा तीन जनाका दरले ८५८ सहायक कर्मचारी र २८६ सहयोगी कर्मचारी परिचालन गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । यस पटकको निर्वाचनमा जिल्लामा १४५ मतदान स्थल र दुई वटा अस्थायीसहित २८६ मतदान केन्द्र रहेका छन् ।