रमेश विश्वकर्मा
गुल्मी, फागुन १० गते। यही फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि गुल्मीमा संयुक्त निर्वाचन सुरक्षा अभ्यास गरिएको छ। जिल्ला सुरक्षा समितिको आयोजना तथा जिल्लास्थित सुरक्षा निकायको सहभागितामा यहाँ दुई स्थानमा संयुक्त निर्वाचन सुरक्षा अभ्यास सञ्चाल गरिएको हो।
निर्वाचन क्षेत्र नम्बर–१ को छत्रकोट गाउँपालिका वडा नम्बर–४ मा अवस्थित श्रृंगा जनता माध्यमिक विद्यालय र क्षेत्र नम्बर–२ को मालिका गाउँपालिका वडा नम्बर–८ मा अवस्थित मालिका माध्यमिक विद्यालय सिमलटारीमा नमुना मतदानसहितको संयुक्त निर्वाचन सुरक्षा अभ्यास सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो।
प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायहरुबीचको समन्वयलाई थप प्रभावकारी बनाउने, फिल्डमा खटिने सुरक्षाकर्मीहरुको भूमिका निर्दिष्ट गरी जिम्मेवार र परिपक्क बनाउन, निर्वाचनमा आइपर्न सक्ने चुनौतीहरुको आंकलन गरी समाधानका रणनीति तय गर्ने लगायतका उद्देश्यले अभ्यास गरिएको हो।
अभ्यासका क्रममा तोकिएको ढाँचामा मतदान केन्द्र निर्माण, तोकिएका प्रकृया पुरा गरी मतदान कार्य सञ्चालनका साथै मतदानको दिनमा मतदान केन्द्रमा हुन सक्ने हुलहुज्जत, निर्वाचन विरोधी समूहबाट हुन सक्ने अवरोध, मतदान केन्द्रबाट मतपेटिका लुट्न हुन सक्ने प्रयास लगायतका घटनाहरु प्रदर्शन गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको परिचालन गरी त्यस्ता घटनाहरु नियन्त्रण गरिएको थियो।
आवश्यकतानुसार बल प्रयोगको सिद्दान्त बमोजिम बल समेत प्रयोग गरिएको लगायतका परिदृष्य प्रदर्शन गरिएको उहाँले जानकारी दिनुभयो। सो अभ्यासलाई सम्बोधन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी गैह्रेले गुल्मी जिल्लामा निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको, सबै सुरक्षा निकायहरु फिल्डमा परिचालन भइसकेको, तीन तहको सुरक्षाको प्रबन्ध मिलाइएको भन्दै फिल्डमा खटिने सुरक्षाकर्मीहरुलाई उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन समेत दिनुभयो।