जनकपुरधाम समाचारदाता
जनकपुरधाम, फागुन १० गते । गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद भण्डारीले सामाजिक सञ्जाललाई चुनौतीभन्दा अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभएको छ ।
मैथिली विकास कोषद्वारा जनकपुरधाममा आयोजित जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव अन्तर्गत ‘सामाजिक सञ्जालः अवसर र चुनौती’ विषयक विमर्शमा भण्डारीले १२५ वर्ष पुरानो गोरखापत्र जस्तो ऐतिहासिक छापा माध्यमलाई जोगाउँदै थप सुदृढ बनाउनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष भण्डारीले छापा माध्यमको प्रवर्धन र संरक्षणसँगै सामाजिक सञ्जाललाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नु्भयो । उहाँले भन्नुभयो, “छापा माध्यम विकाउने माध्यम नै सामाजिक सञ्जाल बनेको छ । त्यसैले सामाजिक सञ्जालमा अवसर नै अवसर छन्, त्यसलाई सही ढङ्गले उपयोग गर्न सक्नु पर्छ ।”
उहाँका अनुसार सामाजिक सञ्जाल तीव्र रूपमा विकास हुँदै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्म पुगेको छ, जसले सञ्चार क्षेत्रलाई नयाँ आयाम दिएको छ । यद्यपि यसबाट केही चुनौती पनि उत्पन्न भएको उहाँले सङ्केत गर्नुभयो । उहाँले सामाजिक सञ्जालले विभिन्न भाषा, कला र संस्कृतिको प्रवर्धनमा महìवपूर्ण भूमिका खेलेको उल्लेख गर्दै तराई–मधेशको छठपर्व देशको विभिन्न स्थानसम्म फैलिएको उदाहरण प्रस्तुत गर्नुभयो ।
मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता
डा. सुनील रञ्जन सिंहले सामाजिक सञ्जाल एक प्रकारको ‘युनिभर्सिटी’ का रूपमा स्थापित हुँदै गएको धारणा व्यक्त गर्नुभयो ।
उच्च अदालत जनकपुरका न्यायाधीश टेकनारायण कुँवरले सामाजिक आन्दोलन र नागरिक सचेतनाका लागि सामाजिक सञ्जाल प्रभावकारी माध्यम बनेको उल्लेख गर्दै २१ औँ शताब्दीमा छिटो, छरितो र प्रभावकारी कार्यसम्पादनका लागि यो प्रमुख माध्यमका रूपमा स्थापित भएको बताउनुभयो । उहाँले नियमका लागि कानुन पनि छ र प्रयोगकर्ताले कानुनलाई मध्यनजर गर्दै सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने सुझावसमेत दिनुभएको थियो ।