विष्णुप्रसाद पोखरेल
दमक, फागुन १० गते । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा झापा–२ मा चुनावी चहलपहल तीव्र बन्दै गएको छ । बिहानको झिसमिसे उज्यालोसँगै गाउँटोल, चियापसल, भक्का पाइने स्थल, चौतारो र बजारका गल्लीमा निर्वाचनको नै चर्चा चल्ने गरेको भेटिन्छ ।
उम्मेदवारले अघि सारेका रोजगारी, कृषि, शिक्षा, स्वास्थ्य र सुशासनका मुद्दाको विषयमा पनि मतदाताले छलफल थालेका छन् । शान्तिनगरका विकास दर्जीले भन्नुभयो, “प्रतिबद्धता त सबैले गर्छन् तर पूरा गर्दैनन् ।” अरूबेला पनि कसैले पीरमर्का नबुझेको उहाँको भनाइ छ ।
बुधबारेमा भेटिएका अर्का मतदाता पनि यो पटक कसलाई मत दिने भन्नेमा दोधारमा हुनुहुन्छ । स्थानीय भवानी रिजालले भन्नुभयो, ‘सबैका प्रतिबद्धतापत्र हेर्दा राम्रो लाग्छ र सबैको कुरा सुन्दा मत दिउँ जस्तो लाग्छ तर कसलाई दिने भन्ने अन्योलमा छु ।”
यस पटक प्रत्यक्षतर्फ यहाँ प्रभावशाली तथा विगतमा मन्त्री, सांसद भएर चिनिएका महिला उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । यहाँ महिलाको मत विभाजित हुने देखिन्छ । चारपानेकी रञ्जना शिवाकोटीले भन्नुभयो, “एक जना महिला भएको भए कति सजिलो हुने थियो रोज्न तर सबै उस्तै बोल्न र गर्न सक्ने महिला उम्मेदवार हुनुहुन्छ ।”
मतदाताको चासो रोजगारी, कृषि उत्पादनको उचित मूल्य, शिक्षा र स्वास्थ्य सेवा नै देखिन्छ । स्थानीयस्तरमा अवसर नपाएका कारण र आयआर्जनको माध्यम नहुँदा युवा बिदेसिन बाध्य हुनु, किसानले कृषि उपजको उचित मूल्य नपाउनु र आधारभूत सेवामा सहज पहुँच नभएको मतादाताको प्रमुख गुनासो भेटिन्छ ।
यहाँ निवर्तमान सभामुख देवराज घिमिरे नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट, निवर्तमान उपसभामुख इन्दिरा रानामगर रास्वपाबाट, पूर्वमन्त्री सरिता प्रसाईं नेपाली कांग्रेसबाट, संविधान सभा सदस्य धर्मशीला चापागार्इं नेकपाबाट, भद्रप्रसाद नेपाल राप्रपाबाट, डा. युवराज सङ्ग्रौलाले स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचन अभियानमा जुट्नुभएको छ ।
घिमिरेले ‘अधुरा विकास पूरा गर्ने’ नारासहित मत माग्नुभएको छ । सडक, पुल, खानेपानी, सिँचाइ र सहरी पूर्वाधारको निरन्तरतासँगै कृषि आधुनिकीकरण, स्थानीय उत्पादनको बजारीकरण र औद्योगिक क्षेत्र विस्तार उहाँको प्राथमिकतामा रहेका छन् । घिमिरेले भन्नुभयो, “विगत तीन वर्षमा गरेको काम यहाँका मतदाताले देख्नुभएको छ ।” अनुभवबिना नीति कार्यान्वयन नहुने भएकाले यस विषयमा मतदातालाई बुझाउँदै आएको पनि घिमिरे बताउनुहुन्छ ।
रास्वपाकी उम्मेदवार निवर्तमान उपसभामुख मगर पुराना दलप्रतिको असन्तुष्टिलाई परिवर्तनको अवसरका रूपमा लिएर मत मागिरहनुभएको छ । सुशासन, पारदर्शिता र समावेशी प्रतिनिधित्वको विषय उहाँका प्रमुख एजेन्डा रहेका छन् । महिला, दलित, आदिवासी जनजाति र अपाङ्गता भएका व्यक्तिको आवाज संसद्मा बलियो बनाउने प्रतिबद्धता उहाँले विभिन्न कार्यव्रmममा व्यक्त गर्दै आउनुभएको छ ।
नेपाली कांग्रेसकी नेता प्रसाईंले सामाजिक विकास र लोकतान्त्रिक आधारलाई बलियो बनाउन मत माग्दै आउनुभएको छ । स्थानीय समस्याको विषयमा जानकार रहेको भन्दै उहाँले यो पटक बद्लिएको कांग्रेसलाई जनताले विश्वास गर्ने उहाँको भनाइ छ । नेकपाकी उम्मेदवार चापागाईंले सामाजिक न्याय, श्रमिक अधिकार र सीमान्तकृत समुदायको सशक्तीकरणलाई मुख्य एजेन्डा बनाउनुभएको छ । भूमिहीन, सुकुमवासी र मजदुरका मुद्दा उठाउँदै कृषि सहकारी र सामुदायिक स्वामित्वका कार्यव्रmमहरू अघि बढाउने प्रतिबद्धता उहाँका रहेका छन् ।
महिला उम्मेदवारले महिला सशक्तीकरणलाई पनि प्रमुख प्रतिबद्धतामा समावेश गर्नुभएको छ । राप्रपाका उम्मेदवार नेपालले धर्म, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणलाई मुख्य एजेन्डाका रूपमा प्रस्तुत गर्दै हिन्दु राज्यको बहस र सङ्घीय संरचनाको पुनरवलोकन आवश्यक रहेको बताउँदै त्यसका लागि मत माग्दै आउनुभएको छ । धार्मिक पर्यटन प्रवर्धन र स्थानीय संस्कृतिमा आधारित रोजगारी सिर्जना उहाँको प्राथमिकता देखिन्छ ।
निर्वाचन आयोगको विवरण अनुसार यस क्षेत्रमा कुल एक लाख ४७ हजार ५२२ मतदाता रहेका छन् । तीमध्ये पुरुष ७३ हजार ५२० र महिला ७३ हजार ५६७ र अन्य मतदाता पाँच जना रहेका छन् ।