• १० फागुन २०८२, आइतबार

मतदातालाई विकास र नेतालाई भोटको चिन्ता

blog

गिदुवाका मतदाता र उम्मेदवार सुदर्शन बराल । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास (गुल्मी), फागुन १० गते । फागुन २१ हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार मतदातासँग भेट गर्न घरदैलोमा पुगेका छन् । उम्मेदवारहरू मतदातासमक्ष गाउँको विकासको चिन्ता गरिरहेका छन् भने उम्मेदवाले कसरी मत आफ्नो पक्षमा कसरी तान्ने चिन्तामा हुन्छ । सो चिन्ताका कारण मतदाताले त्यतिबेला जे भन्छन्, त्यसैमा उम्मेदवारले हुन्छ भन्नुभएको छ । 

गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–१, गिदुवाका जनताले गाउँमा भोट माग्न आउने उम्मेदवारलाई गाउँको विकास गरी दिनका आग्रह गर्दै आएको बताएका छन् । गिदुवाका अगुवा मुक्तिराम पाण्डेले भोट माग्न आउने सबै उम्मेदवारलाई गाउँमा मोटरबाटोको व्यवस्था गरिदिनका आग्रह गरेको बताउनुभयो । 

गाउँमा आउने मोटरबाटोको १० वर्षपहिले ट्र्याक खुले पनि सहज रूपमा यात्रा गर्न सक्ने अवस्था नभएकाले बाटोको स्तरोन्नति गरिदिन आग्रह गर्दै आएको बताउनुभयो । गाउँमा मत माग्न आउने नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई गाउँको विकासमा ध्यान दिनका लागि आग्रह गर्दै आएको बताउनुभयो ।

ग्रामीणस्तरमा बसाइँसराइको दर बढ्दो भएकाले यसलाई रोक्नका लागि गाउँमै स्वरोजगारको वातावरण बनाउन यहाँका स्थानीयले माग गरेका हुन् । उनीहरूले पहिले गाउँमा हुने विकासनिर्माणका कार्य उपभोक्ता समितिमार्फत काम गर्दै आएकोमा पछिल्लो समय टेन्डर (बोलपत्र) मार्फत काम गर्ने भएकाले गाउँका स्थानीयले काम पनि पाउन छाडेको पाण्डेले गुनासो गर्नुभयो ।  

स्थानीय युवा पोष्टबहादुर सुस्लिङले उपभोक्तामार्फत हुने कार्यमा गाउँकै विकासका निम्ति हुने भएकाले विनियोजन बजेटभन्दा बढीको काम हुने दाबी गर्नुभयो । टेन्डर (बोलपत्र) मार्फत हुने काममा कम काम हुने भन्दै गाउँको थप विकास गर्न र युवालाई गाउँमै रोजगारी सिर्जना गर्नका लागि उपभोक्तामार्फत नै काम गर्ने वातावरण मिलाउनका उहाँले आग्रह गर्नुभयो । 

स्थानीयले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुदर्शन बराललाई गाउँको साझा समस्यालाई आफूहरूले सबै उम्मेदवारसमक्ष राखेको बताउँदै गाउँको विकास गरिदिनका लागि आग्रह गरेका छन् । गाउँको विकासमा पहिलेदेखि नै काम गर्दै आएकाले ग्रामीणस्तरको समस्याबारे आफू जानकार रहेको उहाँले बताउनुभयो ।

 जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार जिल्लामा कुल दुई लाख २९ हजार ५४९ मतदाता रहेका छन् । तीमध्ये निर्वाचन क्षेत्र नं. १ मा एक लाख २२ हजार १८६ र निर्वाचन क्षेत्र नं. २ मा एक लाख सात हजार ३६३ मतदाता रहेका छन् । जिल्लाभर १४५ मतदान स्थल र २८४ मतदान केन्द्र तोकिएको छ ।