• १० फागुन २०८२, आइतबार

बागमती प्रदेशमा निर्वाचन गतिविधि तीव्र

blog

सिन्धुलीको ग्रामीणक्षेत्रमा मोटरसाइकलबाट गस्ती गर्दै नेपाली सेना । तस्बिर : बाबुराम देवकोटा

बागमती प्रदेश ब्युरो

हेटौँडा, फागुन १० गते । आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी बागमती प्रदेशका विभिन्न जिल्लामा तीव्र बनाइएको छ । जिल्लास्थित निर्वाचन कार्यालयले निर्वाचन व्यवस्थापनको तयारीसँगै निर्वाचनमा उम्मेदवार बनेका र राजनीतिक दलहरूले आन्तरिक एवं बाह्य तयारीलाई तीव्र बनाएका हुन् । निर्वाचन कार्यालयले निर्वाचन सामग्री, निर्वाचन अधिकृतको कार्यालय कर्मचारी व्यवस्थापन र जिल्ला प्रशासन कार्यालयसहित सुरक्षाका निकायले सुरक्षा रणनीति र योजना बनाउँदै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी गरिरहेका छन् ।

उता राजनीतिक दल र उम्मेदवार मतदातासँग घेरदैलौ, कार्यकर्ता भेलालगायतका गतिविधि गर्दै मत आफ्नो पक्षमा पार्न लागेका छन् । 

मतदाता शिक्षा कार्यक्रम

मकवानपुरगढी समाचारदाताका अनुसार मकवानपुरमा २०७९ को निर्वाचनमा मतदाता शिक्षाको अभावमा खसेको कुल मतको ४.४६ प्रतिशत मत बदर भएको थियो । यस पटक निर्वाचनमा बदर मत कम गर्ने लक्ष्यसहित जिल्लाको १०२ वटै वडामा मतदाता शिक्षा सञ्चालन भइरहेको छ । मतदाता शिक्षाका लागि स्वयंसेवक खटिएका छन् । मतदाता शिक्षा प्रभावकारी बनाउन प्रत्येक पालिकाबाट एक÷एक जना अनुगमनकर्तालाई जिम्मेवारी दिइएको छ ।  प्रत्येक वडामा बालविकास सहजकर्ता वा महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा स्वयंसेवकका रूपमा परिचालन गरिएको छ । 

त्यसो त, पढेलेखेका मतदातामा समेत मतदान गर्ने सही प्रक्रिया थाहा नभएको पाइएको स्वयंसेवकको अनुभव छ । मतदाता शिक्षाका लागि खटिनुभएकी स्वयंसेवक सपना लामिछानेका अनुसार मतपत्रमा सही स्थानमा छाप नलगाउने, छाप लगाउँदा चिह्नभन्दा बाहिर जाने वा मतपत्र गलत तरिकाले पट्याउने जस्ता साना त्रुटिले पनि मत बदर हुने सम्भावना उच्च रहेको छ । सानो गल्तीले पनि आफ्नो अमूल्य मत बदर भएर गन्ती नहुने भन्ने थाहा पाएपछि मतदान गर्ने प्रक्रिया सिक्न मतदाता उत्साहित देखिएका छन् । उहाँका अनुसार गत निर्वाचनमा भएको बदर मत प्रतिशतलाई शून्यमा झार्न नसके पनि बदर मतको प्रतिशत घटाउने लक्ष्य लिइएको छ । मकवानपुरमा तीन लाख १५ हजार ३३४ मतदाता छन् ।

सुरक्षाकर्मी परिचालन

सिन्धुली समाचारदाताका अनुसार सिन्धुली जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले करिब तीन हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको छ । एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका गरी तीन हजार ४६० सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार कम्तीमा पनि नेपाली सेना, ६५० सशस्त्र प्रहरी बल ४९७ र नेपाल प्रहरी दुई हजार २९९ जना परिचालन गरिएको छ । 

उहाँले भन्नुभयो, “सबै मतदान स्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगिसकेको अवस्था छ ।” निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न सुरक्षाकर्मीको स्थलगत र गाडीबाट गस्ती बढाइएको उहाँले बताउनुभयो । “निर्वाचनलाई खलल पुग्ने अवस्था आएमा शून्य शक्ति सहनशीलता अपनाई सुरक्षा गतिविधि बढाइने छ,” उहाँले थप्नुभयो । सिन्धुली जिल्लाको हालसम्म शान्ति सुरक्षाको अवस्था निर्वाचनलाई लिएर अत्यन्तै शान्त र सामान्य रहेको उहाँको भनाइ छ । १३२ वटा मतदान स्थलको स्थलगत अनुगमन कार्य भइसकेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा कुल मतदान स्थल २५१ वटा र मतदान केन्द्र २७२ वटा छन् । 

दुई वटा अस्थायी मतदान केन्द्र 

चितवन समाचारदाताका अनुसार चितवनमा दुई वटा अस्थायी मतदान केन्द्र रहने भएको छ । निर्वाचन कार्यालय चितवनका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले चितवन जिल्ला कारागार र जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र रहने जानकारी दिनुभयो । कारागारमा रहेका कैदीबन्दीका लागि कारागारमा र निर्वाचनमा नखटिएका सुरक्षाकर्मी तथा सरकारी कर्मचारीका लागि जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र राखिने भएको हो । चितवनमा ४९६ मतदान केन्द्र कायम छ । निर्वाचन कार्यालय भरतपुरले चितवनमा दुई हजार ९७६ कर्मचारी निर्वाचनमा खटिने जानकारी दिएको छ । एउटा मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगीसहित छ जना कर्मचारी खटिने छन् । तीन वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा चार लाख ४२ हजार ८२ जना मतदाता छन् । 

उम्मेदवारले खोलेनन् बैङ्क खाता 

बनेपा समाचारदाताका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल एवं उम्मेदवारबाट निर्वाचनमा हुने खर्चलाई मितव्ययी र पारदर्शी बनाई निर्वाचनमा सुशासन कायम गर्नका लागि निर्वाचन आयोग नेपालले बैङ्कमार्फत आर्थिक गतिविधि गर्न निर्देशन दिएको छ । आयोगले बैङ्क खातामार्फत खर्च गर्न बैङ्क खाता खोल्न निर्देशन दिए पनि काभ्रेपलाञ्चोकमा मुख्य दलका उम्मेदवारले हालसम्म पनि बैङ्क खाता खोलेका छैनन् । जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार ११ उम्मेदवारले अझैसम्म खाता खोल्न सिफारिस नलिएको जनाएको छ । जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले प्रतिनिधि सभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार गुणराज मुक्तान, नेपाल मजदुर किसान पार्टीका राजु तामाङ, जनता समाजवादी पार्टी नेपालका मानबहादुर तामाङ र स्वतन्त्र उम्मेदवार युवराज चौलागाईंले हालसम्म बैङ्क खाता खोल्न सिफारिस नलिएको बताउनुभयो । 

यस्तै क्षेत्र नम्बर २ का नेकपा (एमाले) का उम्मेदवार अशोककुमार ब्याञ्जू श्रेष्ठ, नेमकिपाका मुना तामाङ र जनता समाजवादी पार्टी नेपालका रकम लामा (तामाङ) ले सिफारिसपत्र नलिएको जिल्ला निर्वाचन अधिकारी शिवाकोटीले बताउनुभयो । जिल्ला निर्वाचन अधिकारी शिवाकोटीले बैङ्क खाता खोल्न सिफारिस लगेका ३१ उम्मेदवारमध्ये विभिन्न बैङ्कबाट १४ जना उम्मेदवारले मात्रै बैङ्क खाता खोलेको जानकारी प्राप्त भएको बताउनुभयो । 

गाउँमा मतदाता शिक्षा 

दोलखा समाचारदाताका अनुसार प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता शिक्षा प्रदान गर्न स्वयंसेवक ७४ वटै वडामा खटिएका छन् । स्वयंसेवकले गत आइतबारदेखि मतदाता शिक्षा प्रदान गर्न थालेको जिल्ला निर्वाचन अधिकारी अप्सरा खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहले दिएको सिफारिस अनुसार स्वयंसेवकलाई नियुक्ति र तालिमपछि उनीहरू वडा वडामा पुगेर वडाका प्रत्येक गाउँटोलमा पुगी मतदान गर्ने तरिकाबारे प्रशिक्षण गर्ने छन् । नौ वटा स्थानीय तहमा नौ जना निर्वाचन सहजकर्ता छन् । मत बदर हुन नदिन र सही तरिकाले मतदान गर्न नमुना मतपत्र देखाई स्वस्तिक चिह्न सही ठाउँमा लगाउने, मतपत्र सुरक्षित तरिकाले पट्याएर मतपेटिकामा खसाल्नेलगायतका तरिका मतदातालाई सिकाइने छ । यही १७ गतेसम्म स्वयंसेवकले मतदाता शिक्षा प्रदान गर्ने जिल्ला निर्वाचन अधिकारी खत्रीले जानकारी दिनुभयो ।