नवराज नेपाली
बागलुङ (गलकोट) फागुन १० गते । बागलुङको धवलागिरी प्रादेशिक अस्पतालले मनोरोगसम्बन्धी परामर्श र उपचार सेवा सुरु गरेको छ । अस्पतालमा हरेक महिनाको दोस्रो शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विशेषज्ञ डा. सुन्दर रानाभाटले बिरामीको परामर्श र उपचार प्रदान गर्ने हुनुभएको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले स्वास्थ्य बिमाबाट पनि सेवा प्राप्त गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “तत्कालको लागि मासिक रूपमा यो सेवा सुरू गरिएको छ, यसबाट मनोरोगसँग सम्बन्धित बिरामीले लाभ पाउनेछन् । हामी स्थायी चिकित्सकको व्यवस्था नभएसम्म यसरीनै निरन्तर सेवा दिँदै स्थायी रुपमा चिकित्सकहरुको व्यवस्थापनका लागि पनि पहल गरिरहेका छौं ।”
अस्पतालमा पहिले पनि मनोरोग विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको भएता पनि नियमित सेवा सञ्चालन हुन सकेको थिएन । यसअघि मानसिक रोगका बिरामीहरू विशेषज्ञ चिकित्सकको अभावमा पोखरा, काठमाडौँलगाएतका अस्पतालमा जानुपर्ने बाध्यता रहेको र अब यो समस्यालाई समाधान गरी स्वास्थ्य क्षेत्रमा धौलागिरी प्रादेशिक अस्पतालले धेरै फड्को मारेको अस्पतालका प्रमुख किरण तिवारीले बताउनुभयो ।