• १० फागुन २०८२, आइतबार

चिराग र शिवाङ्गिनीका सत्तरी कृति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १० गते । कलाकार चिराग बाङ्देल र शिवाङ्गिनी राणाको संयुक्त कला प्रदर्शनी ‘बिटुविन टु वल्र्डस्’ बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ । चिरागका अमूर्त कलाले मानवजीवनका शाश्वत मूर्त विम्बसमेत बोक्छन् । तथापि कलाकार शिवाङ्गिनीका रङले अमूर्तताका स्वच्छन्द सीमा नाघ्छन् । अमूर्त कलाका यी दुई पारखीले आफ्ना तीन कलामा क्यानभास सेयर गरेर रङ, विचार र भावनाको संयोजन गर्ने प्रयास गर्नुभएको छ । अर्धमूर्त र अमूर्त शैली पछ्याउने यी दुई कलाकारले आफ्ना कलामा सहअस्तित्वको खोजीसमेत गर्नुभएको छ ।

ग्लास पेन्टिङ हुँदै क्यानभास यात्रा थाल्नुभएकी शिवाङ्गिनीका रङले निस्फिक्री स्वतन्त्रता खोज्छन् । तथापि शिवाङ्गिनीका कलामा सरल र सहज अभिव्यक्तिभित्र यथार्थका गहन बोध पनि छन् । अवलोकनकर्ताको मन र भावनालाई रङसँगै बगाउनु नै राणाको कलाको विशेषता बनेको छ । उहाँ आफ्ना कला र क्यानभासमा सुन रङको संयोजन बेजोड रुचाउनुहुन्छ । किन त ? उहाँको जवाफ छ, “खोइ किन हो, मलाई यो रङमा बढी आनन्द मिल्छ अनि क्यानभासमा म यसलाई भित्र्याउँछु । सायद यसले गतिशीलता र भावनामा जीवन्तता दिन्छ होला ।”

बाङ्देल र राणाको कला प्रदर्शनी आइतबारसम्म सञ्चालन हुने जनाइएको छ । प्रदर्शनीमा एक्रेलिक रङ माध्यममा तयार पारिएका ७० कलाकृति राखिएका छन् । जसमा चिरागका २७, शिवाङ्गिनीका ४० र क्यानभास सेयर गरिएका कृति तीन वटा छन् ।