• १० फागुन २०८२, आइतबार

ग्लोबल मनी विक मनाइँदै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १० गते । ‘स्मार्ट मनी टक्स’ भन्ने नाराका साथ नेपाल राष्ट्र बैङ्कले आगामी चैतमा ग्लोबल मनी विक मनाउने भएको छ ।

राष्ट्र बैङ्कले आगामी मार्च १६ देखि २२ (२०८२ चैत २ देखि ८) ग्लोबल मनी विक मनाउन लागेको हो । राष्ट्र बैङ्कका अनुसार ग्लोबल मनी विकको यो चौधौँ शृङ्खला हो । 

बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउँदै आइएको छ । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका सात करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।

नेपालमा यस वर्ष पनि राष्ट्र बैङ्कले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ग्लोबल मनी विक मनाउँदै छ । यो कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाको सक्रिय सहभागिता रहने राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कले यसको अतिरिक्त अन्य सङ्घसंस्था र सरोकारवाला निकाय पनि यस अभियानमा आबद्ध हुन सक्ने भएकाले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण सङ्घसंस्था र निकायलाई अभियानमा सहभागी भई ग्लोबल मनी विक भव्य रूपमा मनाउनका सरोकारवाला निकायलाई आग्रह पनि गरेको छ ।