लक्ष्मण पौडेल
भैरहवा, फागुन १० गते । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । शुक्रबार साँझ बुटवल आएकी प्रधानमन्त्री कार्कीले शनिबार बिहान लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीलाई निर्वाचन निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण बनाउन निर्देशन दिनुभएको हो ।
प्रदेशका सुरक्षा अधिकारीको संयुक्त बैठकमा प्रधानमन्त्री कार्कीले निर्देशन दिँदै भन्नुभयो, “अहिले सरकारको मुख्य कार्यादेश निर्वाचन भएकाले यसैमा ध्यान केन्द्रित गर्न आग्रह गर्न चाहन्छु ।” उहाँले फागु पूर्णिमा (होली) आउँदै गरेको र हिमाली क्षेत्र खास गरी रुकुमपूर्वमा सम्भावित हिमपात जस्ता प्राकृतिक समस्या देखा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीका अनुसार प्रधानमन्त्री कार्कीले सबै सुरक्षा निकायका प्रमुखबाट प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी लिएसँगै अबको सुरक्षा रणनीति र सरकारको योजनाबारे निर्देशन दिनुभएको छ ।
बैठकमा सहभागी सुरक्षा अधिकारीले भारतको सीमासँग जोडिएको ५१४ किलोमिटर खुला क्षेत्र तराईका छ जिल्लाको मुख्य चुनौती भएको र पहाडी जिल्लामा अलग अलग सुरक्षा चुनौती भए पनि सुरक्षा निकायले त्यसलाई रोक्न सक्ने रणनीतिसाथ अघि बढेको प्रधानमन्त्रीलाई जानकारी दिइएको प्रमुख सचिव काप्रीले बताउनुभयो । उहाँका अनुसार तीन तहको सुरक्षा रणनीति बनाएर निर्वाचनलाई सफल बनाउन अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरेर जाने निर्णय भएको छ । बैठकमा सुरक्षा निकायका प्रमुखसँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लागत अवस्थाबारे जानकारी गराउनुभएको थियो । तराईका जिल्ला प्रमुख अधिकारीले प्रमुख साझा चुनौती सीमा क्षेत्र रहेको ५१४ किलोमिटर खुला सीमालाई भारतका अधिकारीसँग समन्वय गर्ने बताएका थिए । बैठकमा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, मध्यपश्चिम पृतनापति हिम्मतबहादुर विष्ट, प्रदेश प्रहरी प्रमुख भूपेन्द्रबहादुर खत्रीसहितका सुरक्षा अधिकारीले आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुभएको थियो ।
प्रधानमन्त्रीद्वारा लुम्बिनी भ्रमण
प्रधानमन्त्री कार्कीले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्नुभएको छ । विश्व शान्तिको प्रतीक तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको संरक्षण, विकास र अन्तर्राष्ट्रिय प्रवर्धनलाई प्राथमिकतामा राख्दै उहाँ लुम्बिनी पुग्नुभएको हो ।
लुम्बिनी आगमनका क्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले प्रधानमन्त्री कार्कीलाई औपचारिक रूपमा स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्का, विश्व पौडेललगायत कोषका पदाधिकारी तथा कर्मचारीको उपस्थिति थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले मायादेवी मन्दिरमा दर्शन गर्नुभयो । उहाँले बुद्धको जन्मस्थलको ऐतिहासिक र धार्मिक महत्वबारे जानकारी लिँदै संरक्षणका कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । त्यसै गरी उहाँले थाई विहारलगायत लुम्बिनी क्षेत्रभित्रका विभिन्न अन्तर्राष्ट्रिय विहार तथा संरचनाको पनि अवलोकन गर्नुभएको छ । उहाँले लुम्बिनी केवल नेपालको मात्र नभई सम्पूर्ण विश्वकै साझा सम्पदा भएको उल्लेख गर्दै यसको विकास गर्दा मौलिकता, शान्ति र धार्मिक सहिष्णुतालाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी विकास कोष, स्थानीय समुदाय र सरोकारवालाबिच समन्वय गरेर दीर्घकालीन गुरुयोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो ।
लुम्बिनी विकास कोषका पदाधिकारीले प्रधानमन्त्री कार्कीसमक्ष हालसम्म भएका विकास निर्माणका कार्य, भावी योजना तथा देखिएका चुनौतीबारे जानकारी गराएका थिए । प्रधानमन्त्री कार्कीले ती विषयमा चासो व्यक्त गर्दै आवश्यक नीतिगत तथा संरचनागत सहयोग सरकारबाट उपलब्ध गराइने आश्वासन दिनुभयो ।