• ९ फागुन २०८२, शनिबार

विदेश जाने सोच त्यागेर स्वदेशमै मौरीपालन

blog

कपिलवस्तुको धर्मपनिया नजिकै तोरीबारीको छेउमा मौरी चराउँदै किसान । तस्बिर : नारद कोहार ।

नारद कोहार

कपिलवस्तु, फागुन ९ गते । चितवनको कालिका नगरपालिका–९, शक्तिखोरका पशुपति बुढाथोकीले विदेश जाने सोच त्यागेर स्वदेशमै मौरीपालन व्यवसाय विस्तार गर्नुभएको छ । विगत १६ वर्षदेखि मौरीपालनमा सक्रिय उहाँले जापान जाने योजना बनाए पनि अन्त्यमा त्यही लगानी आफ्नै व्यवसायमा लगाउने निर्णय गर्नुभएको हो ।

“विदेशमा दुःख गरेर कमाउनुभन्दा त्यही पैसा यहीँ लगानी गरेर व्यवसाय गर्नु राम्रो हुन्छ,” उहाँले भन्नुभयो । विदेश जाने तयारीका लागि जुटाइएको रकम मौरीपालनमै लगानी गरेपछि व्यवसाय थप सुदृढ बनेको उहाँको अनुभव छ ।

सुरुमा २०–२५ घारबाट व्यवसाय थाल्नुभएका बुढाथोकीले हाल घार सङ्ख्या बढाएर १५० पुर्‍याउनुभएको छ । रोल्पा, प्युठान, बर्दघाट र कपिलवस्तु लगायतका क्षेत्रमा चरन र मौसम अनुसार घार सार्दै उहाँले मह उत्पादन गर्दै आउनुभएको छ । मौसम अनुकूल भएमा २० देखि ३० दिनमै मह निकाल्न सकिने उहाँको भनाइ छ ।

एकपटकमा ६ क्विन्टलसम्म मह निकाल्ने गरिएको र वार्षिक २५ देखि ५० क्विन्टलसम्म उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो । ‘मेलिफेरा’ जातको मौरीपालन गर्दै आउनुभएका उहाँले प्रतिघार १२ देखि १५ हजार रुपियाँमा खरिद गर्नुभएको थियो । हाल वार्षिक करिब १५ लाख रुपियाँ बराबरको कारोबार हुने र खर्च कटाएर १० देखि १२ लाख रुपियाँसम्म बचत हुने गरेको उहाँ बताउनुहुन्छ ।

भारतीय महको आयातका कारण बजारमा प्रतिस्पर्धा बढेको र बिक्री वितरणमा केही समस्या भएको उहाँको गुनासो छ । तथापि, स्वदेशमै सम्भावना देखेर निरन्तर व्यवसायमा लागिरहनु नै सफलताको आधार भएको उहाँले बताउनुभयो ।