ज्ञानु पङ्गेनी
मध्यविन्दु, फागुन ९ गते । नेपाली कांग्रेस नवलपुर–१ का उम्मेदवार बालकृष्ण घिमिरेले ‘जेनजी’ तथा युवासँग साक्षात्कार गर्नुभएको छ ।
शनिबार कावासोतीस्थित बिपी भवनमा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेस नवलपुर–१ का उम्मेदवार घिमिरेले ‘जेनजी’ तथा युवा पुस्तासँग प्रत्यक्ष संवाद गर्दै युवाको माग र अपेक्षा सम्बोधन गर्ने पार्टी नेपाली कांग्रेस नै भएको दाबी गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘जेनजीको सपना, चाहना र आवाजलाई नीतिगत रूपमा स्थापित गर्ने जिम्मेवारी कांग्रेसले लिएको छ ।’
उहाँले रोजगारी सिर्जना, सीप विकास, प्रविधिमैत्री शिक्षा र उद्यमशीलताका कार्यक्रमलाई प्राथमिकतामा राखेर युवापुस्तामा बढ्दो निराशा, बेरोजगारी र वैदेशिक पलायनलाई रोक्ने काममा आफू लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा सहभागी युवाहरूले रोजगारी सिर्जना, सीप विकास, प्रविधिमैत्री शिक्षा, उद्यमशीलता प्रवर्धन लगायतका विषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए ।
जसको जवाफमा उम्मेदवार घिमिरेले युवाको अपेक्षा अनुसार परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले युवाहरूकै आन्दोलनबाट अहिलेको निर्वाचनको अवस्था सिर्जना भएको भन्दै आफ्नो मुख्य एजेन्डा नै युवामैत्री नीति अघि बढाउने रहेको हुँदा निर्वाचनमा युवाको साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पार्टीका जिल्ला तथा क्षेत्रीय नेताहरू, ‘जेन्जी’ तथा युवा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले युवा मतदातासँग प्रत्यक्ष संवाद कार्यक्रम आयोजना गरेको हो ।