काठमाडौँ, फागुन ९ गते । सहकारी पीडितलाई न्याय दिने मुख्य एजेन्डासहित फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी परेको छ । सहकारी बचतकर्ता पीडित महासङ्घका अध्यक्ष कुशलभ केसीले यसै विषयलाई केन्द्रमा राखेर आफ्नो चुनावी अभियान सुरु गर्नुभएको हो ।
शनिबार काठमाडौँको माइतीघर मण्डलामा सहकारी पीडितहरूको भेला गरी केसीले निर्वाचन प्रचार–प्रसार शुभारम्भ गर्नुभयो । विगतका सरकारले पीडितका समस्या समाधान गर्न चासो नदिएकाले सदनमै पुगेर आवाज उठाउन आफूले उम्मेदवारी दिएको उहाँको भनाइ छ ।
"हामी अन्यायमा पर्यौँ, त्यसैले आफूले आफैँलाई न्याय गर्न सदनमा पुग्नुपर्ने अवस्था आयो," अध्यक्ष केसीले भन्नुभयो, "पीडित सडकमा मात्र सीमित नरही सदनमा पुगेर पनि न्याय दिलाउन सक्छन् भन्ने पुष्टि गर्न मेरो उम्मेदवारी हो ।" उहाँले आफ्नो चुनाव चिह्न ‘प्रेसर कुकर’ मा मतदान गर्नसमेत आह्वान गर्नुभयो ।
भेलामा सहभागी सहकारी पीडितहरूले सहकारी आन्दोलनको समर्थन र प्रेसर कुकर चिह्नमा मतदानको आह्वान गर्दै नाराबाजी गरेका थिए । उनीहरूले बचत फिर्ताको सुनिश्चितताका लागि पीडितकै तर्फबाट उम्मेदवारी आवश्यक रहेको बताएका छन् ।