• ९ फागुन २०८२, शनिबार

बदर मत घटाउन मतदाता शिक्षा

blog

सही तरिकाले मतदान गर्ने तरिका सिकाउँदै स्वयंसेवक । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, फागुन ९ गते । रुकुमपश्चिमका गाउँ-गाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा स्वयं सेवकमार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख मोहनलाल केसीका अनुसार जिल्लाका ७३ वटै वडामा एक-एक जनाको दरले स्वय्मसेवक परिचालन गरिएको छ । निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले मतदाता शिक्षा सञ्चालन गरिएको हो । फागुन ३ गतेबाट सञ्चालन भएको मतदाता शिक्षा कार्यक्रम १७ गतेसम्म सञ्चालन हुने कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो । 

मतदाता शिक्षा कार्यक्रममा मतदानको महत्त्व, सही तरिकाले मतदान गर्ने तरिका, मतपेटिका पट्याउने तथा मतपेटिकामा खसाल्ने विषयमा सिकाउने गरिएको छ । तालिम प्राप्त स्वयंसेवकहरूले टोलटोलमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेका छन् । 

मतदाता शिक्षाका लागि छुट्टै नमुना मतपत्र रहेको छ । हरेक स्थानीय तहमा एक जना कर्मचारीलाई अनुगमनकर्ता तोकिएको छ । जिल्ला निर्वाचन कार्यालयले अनुगमनकर्तालाई तालिम प्रदान गरेको थियो । स्थानीय पालिकामार्फत मतदाता स्वयंसेवकको माग गरिएको थियो । तालिमप्राप्त अनुगमनकर्ताले स्वयंसेवकलाई मतदाता शिक्षा सम्बन्धि तालिम सञ्चालन गरेर गाउँमा पठाइएको हो। 

जिल्लाका छ स्थानीय तहमा कुल एक लाख छ हजार ६६० मतदाता रहेका छन् । तीमध्ये ५२ हजार ३९६ महिला, ५४ हजार २६३ पुरुष र एक जना अन्य मतदाता रहेका छन् । प्रतिनिधि सभा सदस्य पदका लागि १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको यहाँ कुल ७६ मतदान स्थल र १४० मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्य २१ वटा मतदान स्थल अति संवेदनशील सूचिमा छन् । 

त्यसैगरी ४३ वटा मतदान स्थल संवेदनशील र १२ वटा मतदान स्थल सामान्य सूचिमा रहेका छन् ।