सुधा देव
भारदह (सप्तरी), फागुन ९ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सप्तरी जिल्लाका विभिन्न स्थानमा आचारसंहिता विपरीत राखिएका प्रचारप्रसारका सामग्री शुक्रबार प्रशासनले हटाएको छ ।
राजनीतिक दलहरूले प्रचारप्रसारका लागि आचारसंहिता विपरीत जिल्लाका विभिन्न स्थानमा टाँसेका पर्चा, पम्पलेट, ब्यानर लगायतका सामग्री प्रहरीले हटाएको स्थानीयवासीले बताएका छन् ।
राजविराजसहित हुलाकी सडक क्षेत्रका विभिन्न स्थानमा दल तथा उम्मेदवारहरूले जथाभाबी आचारसंहिता विपरीत टुल, ब्यानर तथा अन्य प्रचार सामग्री टाँसेको गुनासो आएपछि जिल्ला आचारसंहिता अनुगमन समितिको अगुवाइमा प्रहरीले ती सामग्री हटाएको स्थानीय चन्दन यादवले जानकारी दिनुभयो ।
जिल्ला आचारसंहिता अनुगमन समितिले हुलाकी सडक अन्तर्गत जोमनी, खुरहुरिया चोक, अर्नाहा, बोदेबरसाइनको शत्रुघ्न चोकलगायत स्थानमा अनुगमन गरी सार्वजनिक स्थलमा टाँसिएका ब्यानर तथा टुल हटाएको प्रहरीले जनाएको छ ।
अनुगमन समितिका सदस्य तथा सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवको नेतृत्वमा खटिएको टोलीले सडक किनार, बिजुलीका पोल, सार्वजनिक संरचना तथा सरकारी सम्पत्तिमा टाँसिएका प्रचार सामग्री हटाएको हो । निर्वाचन आचारसंहिता विपरीत ब्यानर, टुल तथा अन्य प्रचार सामग्री टाँसिएको पाइएपछि हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । “निर्वाचनलाई स्वच्छ, मर्यादित र निष्पक्ष बनाउन आचारसंहिता लागु गरिए पनि केही दल र उम्मेदवारले यसको पालना नगरेको पाइएको छ,” उहाँले भन्नुभयो ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले आचारसंहिता उल्लंघन गरेको भेटिएपछि सम्बन्धित दलहरूलाई जानकारी गराएर सचेत गराइएको भए पनि दलहरूबाटै उल्लङ्घन हुनु दुःखद भएको बताउनुभयो । “निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्छ । उल्लंघन गर्नेविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइने छ,” उहाँले भन्नुभयो ।
सार्वजनिक स्थलमा जथाभावी ब्यानर र टुल टाँस्दा वातावरणीय प्रदूषण बढ्नुका साथै सहरको सौन्दर्यमा समेत नकारात्मक असर परेको स्थानीय मतदाता दिनेश यादवले बताउनुभयो ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा सार्वजनिक स्थल, सरकारी कार्यालय, धार्मिक स्थल, शैक्षिक संस्था तथा निजी सम्पत्तिमा अनुमति बिना प्रचार सामग्री राख्न नपाइने स्पष्ट व्यवस्था भए पनि केही दलहरूले उल्लङ्घन गर्दै आएको पाइएको छ ।