गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ९ गते । भाषा आयोगले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषाको संरक्षणमा योगदान पु¥याउनुभएका बमकुमारी बुढामगर, नेपाल भाषा मंका खलः र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले भाषा आयोगद्वारा अन्तर्राष्ट्रिय मातृभाषा दिवसका सन्दर्भमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मगर भाषाको प्रवर्धनमा संलग्न व्यक्त्वि बुढामगरलाई नगद २५ हजार रुपियाँसहित भाषा वर्ष व्यक्त्वि पुरस्कार, २०८२ प्रदान गर्नुभएको हो । त्यसै गरी नेपाल भाषा मंका खलः र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयलाई सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।
कार्यक्रममा उहाँले मातृभाषा राष्ट्रका अमूल्य सम्पदा भएकाले यसको प्रवर्धन गर्नुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले मातृभाषा संरक्षकको हौसला, ऊर्जा बढ्ने बताउनुभयो । उहाँले भाषा, कला, संस्कृतिको प्रवर्धनले राष्ट्रको बृहत्तर विकासमा समेत टेवा पुग्ने बताउनुभयो । नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद सफिफुर रहमानले नेपाल र बङ्गलादेशको धेरै संस्कृति मिल्ने र दुवै देशमा मातृभाषाप्रतिको प्रेम र संरक्षण संवर्धनका लागि उत्तिकै महत्व दिइएको भन्दै प्रसंशा गर्नुभयो ।
आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा आयोगका सदस्य मातृकाप्रसाद पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै २७ औँ मातृभाषा दिवसका अवसरमा मातृभाषाको प्रवर्धनमा योगदान दिने व्यक्ति, संस्थालाई सम्मानसहित मातृभाषाबारे अन्तर्क्रियात्मक कार्यक्रमको आयोजना गरको बताउनुभयो ।
आयोगका सदस्य सुरेश मानन्धरको संयोजकत्वमा गठित समितिले भाषा वर्ष व्यक्त्वि र सम्मान हुने सङ्घ संस्था छनोट गरिएको थियो । संयोजक मानन्धरले बमकुमारी बुढामगरले रोल्पाको मगर पाङ भाषाको प्रवर्धनका लागि विविध साहित्यिक गतिविधि, शब्दकोष निर्माणलगायत कला संस्कृति विकासका लागि गरेको योगदानको चर्चा गर्नुभएको थियो । उहाँले पद्मरत्न तुलाधरको नेतृत्वमा नेपाल भाषा, मंका खलःले नेपाल भाषालगायत अन्य मातृभाषाको प्रवर्धनमा आवाज उठाएको बताउनुभयो ।