• ९ फागुन २०८२, शनिबार

दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

blog

दुर्घटना भएको मोटरसाइकल । तस्बिर सौजन्य : सामाजिक सञ्जाल

अविनाश चौधरी
धनगढी, फागुन ९ गते ।
कैलालीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–४ वनदेवी नजिक शुक्रबार साँझ सुपप्र ०१००९ प ७५८१ र सुपप्र ०१००१ प ३१८७ नम्बरका मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा गौरीगङ्गा नगरपालिका–१ का २५ वर्षीय योगेन्द्र शाह, धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका २२ वर्षीय हरिश ओलीको छुट्टाछुट्टै अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ ।

शाहलाई उपचारका लागि मायामेट्रो अस्पताल र ओलीलाई नवजीवन अस्पतालमा भर्ना गरिएको थियो । यसैगरी, अर्का एक व्यक्तिको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उहाँको अझैसम्म पहिचान खुलेको छैन ।

दुर्घटनामा गोदावरी नगरपालिका–६ का २२ वर्षीय जीवन पाठक गम्भीर घाइते हुनुभएको छ । घाइतेको धनगढीस्थित मायामेट्रोे हस्पिटलमा उपचार भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।