• ८ फागुन २०८२, शुक्रबार

प्रतिनिधि सभा निर्वाचन

गीत र नाचका माध्यमबाट प्रतिस्पर्धा

blog

शान्ता अधिकारी

चितवन, फागुन ८ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरूले मतदाता माझ आफ्ना एजेन्डा लैजानभन्दा पनि गीत र नाचका माध्यमबाट प्रतिस्पर्धा चलाइरहेका छन् । चितवनका तीन वटै निर्वाचन क्षेत्रका प्रतिस्पर्धी उम्मेदवारहरू स्थानीय जनजीवनलाई प्रभावित पार्न विभिन्न लय, भाषामा गीत र भाकामा नृत्य प्रस्तुत गर्ने र छमछम नाच्ने प्रतिस्पर्धा जस्तै बनेको छ । उनीहरू गीत र नाचबाट नै आफूलाई अब्बल सावित गर्न प्रतिस्पर्धी जस्तै देखिएका छन् ।

चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार रहनुभएकी भरतपुर महानगरपालिकाकी निवर्तमान प्रमुख रेनु दाहाल जहाँ पुग्नुहुन्छ त्यहीँ छमछम नाच्दै आउनुभएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तारा चिन्हवाहक उम्मेदवार दाहाल पुग्नुहुने स्थानमा भरतपुर महानगरपालिकामा रहँदा उहाँले गरेको विकासलाई आधार बनाएर यस्तो गीत बनेको छ । 

हेर्नु त हजुर भरतपुर पैला

काम गर्न सक्ने शाहसी महिला

ढुक्क छ जनता सारामा

..... लाई जिताउन हजुर 

भोट हालौँ ..... चिह्नमा 

उहाँ जहाँ पुग्नुहुन्छ त्यहाँ कि गीत बजेको हुन्छ नभए पञ्चै बाजा । मतदाता पनि नाच्छन् र उम्मेदवारलाई पनि सँगै नचाउँछन् । यही क्षेत्रमा प्रतिस्पर्धी रहेकी घण्टी चिन्हवाहक रास्वपा उम्मेदवार सोविता गौतम जहाँ पुग्नुहुन्छ त्यहाँ यस्ता गीत बज्छन् । उम्मेदवारलाई छमछम नचाउँछन् ।

मत..... को फ्यान,

..... मा भोट ड्याङका ड्याङ

प्रचारप्रसारका लागि जहाँ जहाँ उम्मेदवार पुग्छन् त्यहाँ विषेशतः महिलाहरूले गीत गाउँछन् अनि उम्मेदवारसँगै छमछम नाच्छन् । कतिपय स्थानमा भने पञ्चै बाजाकै तालमा उम्मेदवारसँगै नाच्छन् मतदाताहरू । चितवन २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएकी रुख चिन्हवाहक मीना खरेल पनि जहाँ पुग्नुहुन्छ त्यहाँ नाच्न बाध्य हुनुहुन्छ । चितवन कांग्रेस मतदाताहरूले यस्तो गीत बनाएका छन् ।

नानी देखि .... भन्ने लागेको छ बानी

आँखा चिम्म गरे पनि ... मा हात जानी

एकपछि अर्को राजनीतिक दलका मतदाताले गीत बनाएर उम्मेदवारसँगै नाच्दै भोट माग्ने क्रम दर्ता भएसँगै घरदैलौ कार्यक्रमबाट सुरु गरिएको हो । चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का सूर्य चिन्हवाहक उम्मेदवार हुनुहुन्छ अस्मिन घिमिरे । उहाँ त आफू स्वयं गायक नै हुनुहुन्छ । अन्य उम्मेदवार मतदाताले गाएको गीत र सङ्गीतमा नाच्छन् तर घिमिरे आफैँ गीत सुरु हुन्छ, नाच्नुहुन्छ र मतदातालाई पनि नचाउनुहुन्छ ।

कालो बादल फाटेर पूर्वमा लाली छाउनु छ ।

नयाँ नेपाल बनाउन जनताको शासन ल्याउनु छ । युवाको शासन ल्याउनु छ ।  

उहाँ एकपछि अर्को गीत गाएर आफ्नो चुनावी प्रचारमा जुट्दै आउनुभएको छ । यी त भए चितवनको निर्वाचन क्षेत्र नम्बर ३ र २ को प्रतिनिधि पात्र र नमुना गीत । निर्वाचन क्षेत्र नम्बर १ मा पनि मत माग्ने शैली यस्तै छ । घरदैलो पुग्ने मतदाताले दिएकोे माला, खादा र फूल गुच्छा ग्रहण गर्ने र उनीहरूसँगै छमछम नाच्ने । निर्वाचनका लागि मत माग्न आमसभा र कोणसभा गर्ने आफ्ना एजेन्डाभन्दा नाचगानमै व्यस्त छन उम्मेदवारहरू ।