• ८ फागुन २०८२, शुक्रबार

तीन चलचित्रको प्रदर्शन स्थगित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ८ गते । महाशिवरात्रिको अवसर पारेर फागुन १ गतेबाट प्रदर्शनमा आएका चलचित्रहरू ‘बिगुल’ र ‘श्री बुकुरो’ र  ‘शिवांश : च्याप्टर १’ ले  प्रदर्शन स्थगित गरेको छ । चलचित्र बिगुलका निर्देशक रमेश कोइरालाले निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचनसम्बन्धी चलचित्र निर्माण र बजार पनि खासै नभएका कारण चलचित्र स्थगित गर्नु परेको बताउनुभयो । चलचित्र चुनाव सकिनेबित्तिकै पुनः प्रदर्शनमा आउने उहाँको भनाइ छ । 

त्यस्तै चलचित्र ‘श्री बुकुरो’ का निर्देशक सुदीपभूपाल सिंहका अनुसार, विशुद्ध पारिवारिक चलचित्र बनाएको हो । चुनावी राजनीतिक माहोलले गर्दा दर्शक हलसम्म तानिन हम्मे हम्मे परेको हुनाले चलचित्र स्थगित गर्नु परेको हो । “अहिले खासै दर्शकको चलचित्रमा रुचि नदेखिएको हुनाले पनि चलचित्र रोकेका हौँ,” उहाँले भन्नुभयो । चलचित्र चुनाव सकिएपछि वैशाख १८ गतेदेखि पुनः प्रदर्शनमा आउने उहाँले बताउनुभयो । 

चलचित्र ‘शिवांश : च्याप्टर १’ का निर्देशक सन्तोषकुमार आत्रेयका अनुसार, चुनावभन्दा पनि दर्शककै कमीले गर्दा चलचित्र स्थगित गर्नु परेको हो । चलचित्रको प्रचारप्रसारमा हामी चुकोका हौँ कि ? निर्देशक आत्रेयको भनाइ छ । चलचित्र असार मसान्तभित्र पुनः प्रदर्शनमा आउने उहाँले बताउनुभयो ।