गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ८ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सूचना प्रविधिको विकासले पत्रकारिताले सङ्ख्यात्मक फड्को मारे पनि गुणस्तरीय पत्रकारिता कायम राख्नु चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) को ६५ औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले पत्रकारिता क्षेत्रको चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै राससले व्यावसायिक आचरणलाई परिष्कृत, परिमार्जित गर्दै अग्रणी नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो । राससले सत्य, निष्पक्षता र तटस्थताको सिद्धान्त आत्मसात् गर्दै आमनागरिकलाई निरन्तर सूचित गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
राजनीतिक र आर्थिक जीवनको विभिन्न पक्षको प्रकटीकरणमा जोड दिँदै सकारात्मक सोचसाथ सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु पत्रकारिता क्षेत्रको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आग्रह र पूर्वाग्रहबाट नभई वर्तमान परिवेशमा रूपान्तरित सोचसाथ अघि बढ्दै सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, समानता र सुशासनको पक्षपोषणमा यो संस्था खरो उत्रिन सक्नु पर्छ ।”
लोकतन्त्रको प्रारम्भदेखि आसञ्चारमाध्यमले जनतालाई जागरुकता प्रदान गर्दै आएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले अभिव्यक्ति स्वतन्त्रतालाई जीवन्त बनाइनराख्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । राससले नेपाली, अङ्ग्रेजीसहित मातृभाषामा समेत समाचार उत्पादन गरेर समावेशिता र विविधताको सम्मान गरेको उहाँले बताउनुभयो । राजनीतिक असंलग्नता, खोजी पत्रकारिता र नागरिक जवाफदेहिता आत्मसात् गर्दै यस संस्थाले देश विकासमा दत्तचित्त भई अगाडि बढ्न सबैलाई प्रेरित गर्न सक्ने विषयवस्तुमा जोड दिन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार आचार्यले राससका समाचार मिडियाले स्रोत उल्लेख गरेर प्रकाशित गरेमा मिडियाको विश्वसनीयता बढ्ने बताउनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कार्यवाहक सचिव सुवासचन्द्र शिवाकोटीले राससले आफ्नो गरिमा कायम राखेरै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सदैव सत्यतथ्य, निष्पक्ष र आधिकारिक समाचार सामग्री सम्प्रेषण गरी मुलुक र लोकतन्त्रका पक्षमा अतुलनीय भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले राससको नीतिगत परिवर्तन गर्न ऐन, कानुन, विनियमावली संशोधन गरेर समय अनुकूल बनाउनुपर्ने बताउनुभयो । रासस २४ घण्टे समाचार सेवा प्रसारण गर्नुका साथै परीक्षणका रूपमा पोडकास्ट सेवासमेत सुरु गरेको उहाँले बताउनुभयो । राससका महाप्रबन्धक सन्दीप राईले समाचारको क्षेत्रमा रासस परिवर्तनको साक्षी मात्रै नभएर अभिलेखीकरण समेत भएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ राससका अध्यक्ष कृष्णप्रसाद सापकोटाले राससको स्थापना र फागुन ७ गते दुवै प्रजातन्त्रको उज्यालो बनाउने दिन भएको टिप्पणी गर्नुभयो ।