• ७ फागुन २०८२, बिहिबार

स्याङ्जा क्षेत्र नं-२ का एमाले उम्मेदवारको सङ्कल्प पत्र

पूर्वाधार विकास, जलस्रोत उपयोग र कृषि मुख्य प्राथमिकतामा

blog

अर्जुन काफ्ले

स्याङ्जा, फागुन ७ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्याङ्जा निर्वाचन क्षेत्र नं–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार खिमबहादुर थापाले आफ्नो सङ्कल्प पत्र सार्वजनिक गर्नुभएको छ । 

पार्टीका उम्मेदवार तथा केन्द्रीय सदस्य खिमबहादुर थापाले पूर्वाधार विकास, जलस्रोत उपयोग, कृषि तथा सुशासनलाई मुख्य प्राथमिकतामा राख्नुभएको छ । विद्यार्थी जीवनदेखि नै राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा सक्रिय रहँदै आएको उल्लेख गर्दै उहाँले आगामी वर्षहरूमा युवाले उठाएको सुशासनको मुद्दालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।  

भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने, सरकारी निकायमा हुने ढिलासुस्ती अन्त्य गर्ने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उहँले सङ्कल्प पत्रमा उल्लेख गर्नुभएको छ । कृषि तथा पशुपालन मार्फत स्वरोजगार सृजना गर्ने योजना पनि थापाले अगाडि सार्नुभएको छ । 

सहुलियत ऋण, प्राविधिक सहयोग र व्यवस्थित बजार व्यवस्थापन मार्फत कृषकको आम्दानी वृद्धि गर्ने योजना सार्वजनिक गरिएको छ । ग्रामीण कच्ची सडक स्तरोन्नति तथा कालोपत्रे, काेरिडोर तथा अन्तर पालिका–अन्तरजिल्ला सडक विस्तार, सिद्धार्थ राजमार्गको डेडिकेटेड दुई लेन सहित स्तरोन्नति र आँधीखोलामा जलाशययुक्त बहुउद्देश्यीय आयोजना निर्माणलाई सङकल्प पत्रमा प्राथमिकतामा थापाले राख्नुभएको छ । 

जलविद्युत् उत्पादन, सिँचाइ विस्तार, बाढी नियन्त्रण र जलपर्यटन प्रवर्धनका लागि योजना अघि सारिएको हो । आँधी खोलालाई दीर्घकालीन आर्थिक स्रोतका रूपमा विकास गर्न सकिने विश्वास उहाँको रहेको छ । 

पूर्वाधारतर्फ उहाँले प्रत्येक पालिकामा व्यावसायिक शिक्षालाई प्रवर्धन गर्दै सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने, ‘एक निर्वाचन क्षेत्र–एक सुविधा सम्पन्न अस्पताल’ स्थापना गर्ने र ‘एक पालिका–एक उद्योग’ अवधारणा कार्यान्वयन गर्ने प्रतिबद्धता गर्नुभएको छ । 

कालीगण्डकी, आँधी खोला, लुब्दी खोला, ज्याग्दी खोला, मिर्दी खोला, पाठ खोला र बायँ खोलालगायतका उर्वर फाँट तथा टार क्षेत्रको सदुपयोग गर्दै कृषकलाई व्यावसायिक बनाउने लक्ष्य उहाँले राख्नुभएको छ । धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्धनमा जोड दिँदै राम्दीदेखि देवघाटसम्म जल यातायात सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ । 

बहुजातीय तथा बहुसांस्कृतिक पहिचान रहेको क्षेत्रमा खस, आदिवासी जनजाति, दलित र अल्पसङ्ख्यक समुदायको भाषा, भेषभूषा र परम्परा संरक्षणका लागि राष्ट्रिय स्तरमा समन्वय गर्ने प्रतिबद्धता पनि उहाँले गर्नु भएको छ । 

दुग्ध विकास संस्थाको कार्यकारी अध्यक्ष र दुई कार्यकाल कालीगण्डकी गाउँपालिकाका अध्यक्षका रूपमा काम गरि सक्नु भएका थापाले सङ्घीय ससद बन्ने चाहना राख्नु भएको हो । 

निर्वाचनमा स्याङ्जा क्षेत्र नं. २ मा १२ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् भने यहाँ एक लाख १७ हजार ९ सय ३० मतदाता रहेका छन्।