• ७ फागुन २०८२, बिहिबार

कैदीबन्दी र कर्मचारीलाई अस्थायी मतदान केन्द्र

blog

सन्तोष सुवेदी

कास्की, फागुन ७ गते । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि कैदीबन्दी र कर्मचारीहरूले मतदान गर्न पाउने भएका छन् । प्रदेश निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार कैदीबन्दी र निर्वाचनका लागि खटिएका प्रहरी र कर्मचारीहरूले समानुपातिकमा भोट हाल्न पाउने छन् । यसको लागि जिल्ला कारागार र जिल्ला समन्वय समिति कास्कीमा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

‘‘कास्की जिल्लामा २८ सय जनाको अस्थायी मतदाता नामावली रहेको छ । कारागारका कैदीको पनि शतप्रतिशत उपस्थित हुने देखिएको छ भने निर्वाचनमा खटिएका कर्मचारीहरूले सम्बन्धित मतदान केन्द्रमा भोट हाल्ने सुविधा दिइएको छ,’’ उहाँले भन्नुभयो ।

अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने मतदाताले प्रतिनिधिसभाको समानुपातिक तर्फमात्र मत हाल्न पाउने छन् । उनीहरूलाई प्रत्यक्ष तर्फका उम्मेदवारलाई भोट हाल्ने सुविधा हुने छैन ।