• ७ फागुन २०८२, बिहिबार

मतदाता शिक्षा सञ्चालन

blog

गाउँघरमा मतदाता शिक्षा दिइँदै । तस्बिर : टोपलाल अर्याल

रेसुङ्गा समाचारदाता

रेसुङ्गा (गुल्मी), फागुन ७ गते । गुल्मीका गाउँ गाउँमा मतदाता शिक्षा सञ्चालन भएको छ । जिल्लाभरिमा ९३ मतदाता स्वयंसेवकमार्फत मतदाता शिक्षा सञ्चालन भइरहेको छ । आगामी निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गरेको हो । फागुन १७ गतेसम्म मतदाता शिक्षा सञ्चालन हुने छ । 

मतदाता शिक्षाका लागि छुट्टै नमुना मतपत्र रहेको छ । हरेक स्थानीय तहमा एक जना कर्मचारीलाई अनुगमनकर्ता तोकिएको छ । स्थानीय पालिकामार्फत मतदाता स्वयंसेवकको माग गरेर अनुगमनकर्ता र स्वयंसेवकलाई मतदाता शिक्षा तालिम प्रदान गरेर गाउँ पठाइएको निर्वाचन कार्यालयले जनाएको छ । 

एसइई उत्तीर्ण भई पहिलेका निर्वाचनमा मतदाता शिक्षा सञ्चालन गरेको र महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा स्वयंसेवकमा प्राथमिकता दिइएको थियो । मतदाता शिक्षाकै लागि निर्वाचन आयोगले नमुना मतदान गरिरहेको छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीका प्रमुख निर्वाचन अधिकारी ऋषिराम घिमिरेले समयको व्यवस्थापन गर्न सके प्रत्येक पालिकामा नमुना मतदान गर्ने र भिड नियन्त्रणसम्बन्धी नमुना अभ्यास गरिने जानकारी दिनुभयो । जिल्लामा २०६४ सालको निर्वाचनमा ३.०८ प्रतिशत बदर मत रहेको थियो । निर्वाचनमा ५४.३२ प्रतिशत मत खसेको थियो । तत्कालीन तीन निर्वाचन क्षेत्रमा कुल दुई लाख ६१ हजार ६६९ मतदातामध्ये सदर मत ९६.९२ अर्थात् एक लाख ३७ हजार ७४८ रहेको थियो  । 

२०७० सालको निर्वाचनमा २.६८ प्रतिशत मत बदर भएको थियो । तीन निर्वाचन क्षेत्रका कुल एक लाख ५० हजार ६४४ मतदातामध्ये ७८.१२ प्रतिशत अर्थात् एक लाख १७ हजार ७०५ मत खसेको थियो । जसमा सदर मत एक लाख १४ हजार ५४७ रहेको थियो । २०७४ सालको निर्वाचनमा दुई निर्वाचन क्षेत्र थिए । यसअघिको २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ३.०४ प्रतिशत मत बदर भएको थियो । 

निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी हर्क श्रीषले कुल एक लाख ९६ हजार ३४२ मतदातामध्ये एक लाख २४ हजार सात सय सदर र तीन हजार ९१६ बदर मत रहेको जानकारी दिनुभयो । 

२०७९ सालको निर्वाचनमा प्रदेश सभातर्फ २.५९ र प्रतिनिधि सभामा २.८८ प्रतिशत मत बदर भएको थियो । दुई लाख २३ हजार ६१५ कुल मतदातामध्ये ५७.६८ प्रतिशत अर्थात् प्रदेशमा एक लाख २८ हजार ९८९ र प्रतिनिधि सभामा एक लाख २८ हजार ९७५ मत खसेको थियो । जसमा सदर मत प्रदेशमा एक लाख २५ हजार ६४६ र प्रतिनिधि सभामा एक लाख २५ हजार २५७ रहेको थियो । 

दुई निर्वाचन क्षेत्रमा अहिले कुल दुई लाख २९ हजार ५४९ मतदाता रहेका छन् । जिल्लामा १४५ मतदान स्थल र दुई वटा अस्थायीसहित २८६ मतदान केन्द्र रहेका छन् ।