हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), फागुन ७ । मुस्ताङ घरपझोङ गाउँपालिका–२,मार्फामा अवैधरूपमा चोरी सिकारीका लागि धमाधम पासोहरू भेटिन थालेपछि जासुसी क्यामेरा जडान गरिएको छ । हिमपातका कारण जाडोयामा सिकारी र आहारा प्रजातिका बन्यजन्तु ‘कोर एरिया’मा आहाराको कमी हिउँ जमेपछि आहाराको खोजीमा भौतारिरहेकाको मौका छोपी अवैध गतिविधि बढेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) इलाका कार्यालय जोमसोमले अनलानबाट निगरानी गर्ने क्यामेरा जडान गरेको हो ।
जङ्गल क्षेत्रमा चोरीसिकारीसँगै गोठमा राखिएको भेडाच्याङ्ग्रालाई चितुवाले समेत क्षती पुर्याएकाले अनलाइनबाट नियमित निगरानी गर्ने क्यामेरा जडान गरिएको एक्याप जोमसोमका रेञ्जर दिपक ओलीले बताउनुभयो । रेञ्जर ओलीले भन्नुभयो, ‘‘बन क्षेत्रमा गस्तीसँगै क्यामेरा जडान गरिएको छ, कुनै गतिविधि भएमा सङ्केत दिन्छ ।’’ जासुसी क्यामेरालाई रूखमा राखिएको छ भने आसपासका क्षेत्रमा अफलाइन क्यामेरा समेत जडान गरिएको एक्यापले जनाएको छ ।
क्यामेरा जडान गरिएको क्षेत्रमा यसअगाडी नाउरको सिकारका लागि तारको प्रयोग गरिएको ७ थान र पंक्षीका लागि ३ थान पासो नष्ट गरी पासो थाप्नेको खोजी गरिएपनि पहिचान हुन नसकेपछि स्थानीय संरक्षण ब्यवस्थापन समितिले समेत गस्ती सहित निगरानी बढाएको छ । पछिल्लो समय जलवायु परिवर्तन, डढेलो र आहाराको अभावका कारण मार्फा, लेते लगायतका क्षेत्रमा हिउँ चितुवा र चितुवाको बासस्थान खप्टिएको अनुमानसहित क्यामेरा जडान लगायतका कार्यहरू भइरहेको एक्याप प्रमुख राजेश गुप्ताले बताउनुभयो । जाडोयाममा मङ्सिरदेखि माघसम्म यस क्षेत्रमा कृषकको भेडाच्याङ्ग्रा चितुवाले मारेपछि स्थानीय समेत त्रसित छन् ।
मुस्ताङमा दुर्लभ वन्यजन्तु अध्ययनका लागि उपल्लो मुस्ताङको लो घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका १० वडामा अनलाइन क्यामेरा सहित करिब १ सय वटा क्यामेराले घेरिएको छ । त्यसैगरी वारागुङ मूक्तिक्षेत्र गाउपालिका–५, साङ्तामा ७ वटा क्यामेरा जडान गरिएकाले आहारा प्रजातिको संरक्षणसँगै हिउँ चितुवा–मानव द्वन्द्व न्यूनीकरणसँगै चोरीसिकारी नियन्त्रणमा समेत सघाउने छ ।