• ७ फागुन २०८२, बिहिबार

मनाइयो ग्याल्पो ल्होसार

blog

ग्याल्पो ल्होसार अर्थात् शेर्पा समुदायको नयाँ वर्षका अवसरमा काठमाडौँ सिफल चौरमा आयोजित कार्यक्रममा शेर्पा समुदाय । तस्बिर : सागर बस्नेत

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ७ गते । शेर्पा समुदायले बुधबार विभिन्न कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार पर्व मनाएका छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । हिमाली क्षेत्रमा बसोबास गर्ने महायानी बौद्धमार्गी समुदायले मान्ने लोसार अर्थात् नयाँ वर्षको गणना मञ्जुश्री र कालचक्र ज्योतिष शास्त्रमा आधारित रहेको शिक्षा समन्वय समितिका सदस्य आचार्य सार्की शेर्पाले बताउनुभयो । 

‘लो’ भनेको वर्ष र ‘सार’ भनेको नयाँ भन्ने अर्थ दिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसरी लोसारको शाब्दिक अर्थ एक वर्षको समाप्ति भई अर्को नयाँ वर्षको उदय हुनु हो । हाम्रो समाजमा पुरानो वर्षलाई बिदाइ गर्न लोसार आउनुभन्दा दुई/तीन दिनअघिदेखि लामा गुरुलाई आमन्त्रण गरी विशेष पूजा गर्ने परम्परा रहेको छ । उहाँले थ्पनुभयो, आउन लागेको नयाँ वर्षको स्वागत गर्न आफ्नो गच्छे अनुसार तयारी र उत्सव मनाइने गरिन्छ । 

नयाँ वर्षको प्रतिपद बिहान धाराबाट पानी ल्याई देवतालाई अर्पण गरिन्छ । धूपदीप चढाई सबैको शुभमङ्गलको कामना गरिन्छ । त्यसपछि छेमार र खाप्से खाइन्छ । पञ्चरङ्गी ध्वजापताका फहराउँदै ‘किकी सो सो ल्हा ग्यालो’ भन्दै सेतो पिठो आकाशमा उडाएर उत्सव मनाइन्छ । ल्होसारको पहिलो दिन भएको त्यस दिन धर्मगुरुहरू दर्शन पाठपूजा गर्ने गरिन्छ । दोस्रो दिन अग्रज मान्यजनसँग भेटघाट गरी आपसमा टासी देलेग गर्दै शुभकामना आदानप्रदान गरिन्छ । तेस्रो दिन धर्मपालको पूजा गर्दै दीर्घायु र बाधा निवारणको कामना गरिन्छ । यसरी पूर्णिमासम्म आफन्त र साथीभाइसँग भेटघाट गर्दै ल्होसार सम्पन्न हुन्छ ।