• ६ फागुन २०८२, बुधबार

निकुञ्जवरिपरि तारजाली

blog

वन्यजन्तुका कारण देखिएका समस्या उम्मेदवारलाई सुनाउँदै स्थानीय बासिन्दा ।

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, फागुन ६ गते । बाँके क्षेत्र नं. १ का मतदाताले मत माग्न आउने अधिकांश उम्मेदवारसंग बाँके निकुञ्जले छोएको स्थानमा बलियो, अग्लो र भरपर्दो तारजालीको व्यवस्था गर्नुका साथै बाँदर नियन्त्रण गर्नुपर्ने माग राख्ने गरेका छन् । 

निकुञ्जबाट आएको बाघले मान्छे मार्ने गरेको र बाँदर, बँदेल तथा अन्य जनावर आएर लगाएको बाली हानिनोक्सानी गर्ने, घरभित्र राखेका अन्नपातसमेत नष्ट गर्ने गरेकोले आफूहरू निकै प्रताडित भएको गुनासो यहाँका स्थानीयले गरेका छन् । राप्तीसोनारी–९, देउतीमालाका लालमती खड्काले क्षेत्र नम्बर १ को अधिकांश क्षेत्र बाँके निकुञ्जले छोएको हुँदा निकुञ्जबाट गाउँबस्तीमा छिरेर जनावरले धेरै दुःख दिएको बताउनुभयो । 

उहाँले सोही कारणले यहाँ मत माग्न आउने सबै उम्मेदवारसँग निकुञ्ज वरिपरिको बस्ती पर्ने क्षेत्रमा अग्लो तारजाली लगाउनुपर्ने माग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी पनि 

वनजङ्गलको संरक्षणमा लागिरहेका छौँ । वनजङ्गल घना भएसँगै बाघ, चितुवा, बाँदरलगायतका वन्यजन्तुको सङ्ख्या निकै बढेको छ । ती वन्यजन्तुलाई हामीले संरक्षण गरेर उल्टो नोक्सानी हुन थालेको छ । त्यसैले निकुञ्जलाई वन्यजन्तु बाहिर आउन नसक्ने गरी तारजालीले घेर्नु पर्छ । हामीले उम्मेदवारसँग यही माग राखेका छौँ ।” 

देउतीमालाका अर्का स्थानीय दीपक खड्काले पनि निकुञ्जका जनावरबाट आफूहरू सधैँ पीडित भइरहेको बताउनुभयो । उहाँले यस पटक तारजाली गर्ने र जनावरबाट सुरक्षा दिन सक्नेलाई मात्र मत दिने बताउनुभयो । स्थानीयका माग र भनाइ सुनेपछि सबै उम्मेदवारले स्थानीय बासिन्दाको माग पूरा गर्न लाग्ने प्रतिबद्धता व्यक्त गर्ने गरेका छन् ।