बाबुराम कार्की
वराहक्षेत्र, फागुन ६ गते । हिउँदमा बसाइँसराइ गरेर कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आउने जलपन्छीको सङ्ख्या घटेको छ । जाडो छल्न हिमालपारिका जिल्लाबाट बसाइँसराइ गरेर आउने जलपन्छीको प्रजाति र सङ्ख्या घट्दै गएको गणनाले देखाएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र नेपाल पन्छीविद् सङ्घको संयोजनमा गरिएको चरा गणनामा चराको प्रजाति र सङ्ख्यामै कमी आएको छ । नेपाल पन्छीविद् सङ्घको कार्यकारी निर्देशक तथा चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पौडेलका अनुसार गत वर्षभन्दा यस वर्ष चराको सङ्ख्यामा कमी आएको छ ।
उहाँका अनुसार आरक्ष र आसपासका क्षेत्रमा गरिएको गणना अनुसार सन् २०२५ मा ६७ प्रजातिको चरा रेकर्ड गरिएको थियो भने चराको सङ्ख्या १० हजार १८५ रेकर्ड गरिएको थियो । यस वर्ष गरिएको गणनामा चराका प्रजातिका साथै चराका सङ्ख्यामै कमी आएको छ । सन् २०२६ को तथ्याङ्क अनुसार ५६ जलपन्छीका प्रजाति मात्र रेकर्ड भएको छ भने चराको सङ्ख्या पाँच हजार ८९० रेकर्ड गरिएको छ ।
सप्तकोशी नदीमा आउने बाढीका कारण वासस्थान पुरिँदा प्रत्येक वर्ष आरक्ष क्षेत्रमा चराको सङ्ख्या घट्दै गएको विज्ञको अनुमान गरिएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षक अधिकृत भूपेन्द्रप्रसाद यादवले भन्नुभयो, “कोशीटप्पु वन्यजन्तु आरक्षमा पछिल्लो समय ठुला सिमक्षेत्र, ताल र साना खोल्सा बाढीले पुरिँदा र सुक्दै जाँदा चराको वासस्थान घट्दै गएको छ ।’’
कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष जनावरी १० बाट पाँच दिनसम्म चरा गणना गरिएको थियो । नेपालसहित एसिया महादेशभरि हरेक वर्ष जनवरी ३ देखि चरा गणना हुने गरेको छ । नेपालमा सन् १९८७ देखि एसियन वाटर बर्ड सेन्ससले चरा गणना सुरु गरेको थियो । सिमसार क्षेत्र, राष्ट्रिय निकुञ्ज र आरक्ष क्षेत्रभित्र तथा वरिपरिका क्षेत्रमा विभागको नेतृत्वमा पन्छी गणना प्रत्येक वर्ष हुँदै आएको छ । गणनाले पानीमा बस्ने चरा र बसाँइसराइ गर्ने चराको अध्ययनका साथै सिमसार क्षेत्रको अवस्था पत्ता लगाई तिनको संरक्षण तथा व्यवस्थापनमा आमनागरिकलाई सुसूचित गराउँदै आएको छ ।