• ६ फागुन २०८२, बुधबार

छपन्न मतदान स्थल अति संवेदनशील

blog

कास्की समाचारदाता

कास्की, फागुन ६ गते । निर्वाचनको सुरक्षा दृष्टिले कास्कीमा ५६ मतदान स्थल अति संवेदनशील रहेका छन् । कास्कीका १५३ मतदान स्थलमध्ये  ५४ वटा संवेदनशील र ४३ वटा सामान्य छन् ।

मतदान स्थलको भौतिक पूर्वाधार, पहुँच र सुरक्षा व्यवस्थापन यस पटकको निर्वाचन सुरक्षाको मुख्य चासो बनेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेले बताउनुभयो । उहाँका अनुसार ११ वटा मतदान स्थलमा इन्टरनेट सेवा नपुगेको भए पनि नेपाल टेलिकम र एनसेलको फोन भने लाग्छ । 

पाण्डेले जिल्ला प्रहरी कार्यालय कास्कीले विद्यालय, वडा कार्यालय र सामुदायिक भवनको संरचनागत अवस्था, पहुँच मार्ग, घेरबार, कोठाको संरचना र आपत्कालीन व्यवस्थालाई आधार मानेर सुरक्षा योजना परिमार्जन गरेको बताउनुभयो ।

भौतिक संरचनाको प्रकृति अनुसार सुरक्षा घेरा, प्रवेश–निर्गमन मार्ग, मतदाताको लाइन व्यवस्थापन र मतपेटिका सुरक्षित राख्ने स्थानको छुट्टाछुट्टै योजना बनाइएको उहाँको भनाइ छ । पाण्डेले विद्यालय भवनमा कक्षाकोठा पर्याप्त भए पनि कतिपय स्थानमा घेरबार कमजोर रहेको, खुला चौर र बहुविकल्पीय प्रवेश मार्ग हुँदा अतिरिक्त सुरक्षा सतर्कता आवश्यक रहेको बताउनुभयो । 

यो निर्वाचनमा कास्कीका १३६ वटा विद्यालयमा मतदान केन्द्र राखिएका छन् । वडा कार्यालयमा रहेका मतदान स्थल तुलनात्मक रूपमा सानो परिसरभित्र हुने भएकाले भिड व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने बताइएको छ । सामुदायिक भवनमा सञ्चालन हुने स्थलमध्ये केहीमा शौचालय, पिउने पानी र प्रतीक्षालयको अभाव देखिएको छ । जिल्ला प्रहरी कार्यालयले प्रत्येक मतदानस्थलको स्थलगत अनुगमन गरेर भौतिक पूर्वाधारको अवस्थाबारे प्रतिवेदन पनि तयार गरेको छ ।

मतदान स्थल सुरक्षाका लागि नेपाल प्रहरी ८६० जना र निर्वाचन प्रहरी एक हजार ९३९ जना खटाइने योजना छ । सवारीसाधन मोबाइल गस्तीका लागि १२ वटा टोली परिचालन गरिने भएका छन् । जसमा महानगर क्षेत्रमा चार वटा र प्रत्येक गाउँपालिकामा दुई/दुई वटा रहने छन् । दुई वटा क्युआरटी रिजर्भ टोली तयारी अवस्थामा राखिने प्रहरीले जनाइएको छ । साइबर निगरानीका लागि प्रहरी कर्मचारी खटाइएका छन् । प्रहरी निरीक्षक पाण्डेका अनुसार मतदानका दिन अस्पताल, एम्बुलेन्स र दमकल सेवा स्ट्यान्डबाई राखिने छ । मतदानपश्चात् मतपेटिका ढुवानी उच्च सुरक्षा घेराभित्र गरिने छ र मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था गरिने जनाइएको छ ।