हरिकृष्ण ऐडी
मुगु, फागुन ६ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुगुका ६९ वटा मतदान केन्द्रका ६७ वटा मतदान स्थल विद्यालय भवन बनाइएको छ । एउटा मतदान केन्द्र नेपाल विद्युत् प्रधिकरणको गमगाढ वितरण केन्द्रलाई बनाइएको छ । मतदान स्थलको भौतिक पूर्वाधार, पहुँच र सुरक्षा व्यवस्थापन नै यस पटकको निर्वाचन सुरक्षाको मुख्य चासो बनेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र थपलियाले जानकारी दिनुभयो ।
जिल्लाका ६७ वटा मतदान स्थलमध्येका १४ वटा सामान्य, १९ वटा संवेदनशील र ३४ वटा अति संवेदनशील रहेका छन् । तीमध्ये धेरैजसो मतदान क्षेत्रमा सडक पहुँच पुगेको छैन । जहाँ पुग्न सडकबाट सामान्यतया चार घण्टा समय लाग्छ । फर्कन भने साढे दुई घण्टा लाग्ने डिएसपी थपलियाले बताउनुभयो । उहाँका अनुसार ६५ वटा मतदान स्थलमा इन्टरनेट सेवा छैन भने फोन भने लाग्दछ । जिल्ला प्रहरी कार्यालय मुगुले विद्युत् प्राधिकरण र सामुदायिक विद्यालय भवनको संरचनागत अवस्था, पहुँच मार्ग, घेरबार, कोठाको संरचना र आपत्कालीन व्यवस्थालाई आधार मानेर सुरक्षा योजना परिमार्जन गरेको जनाएको छ । भौतिक संरचनाको प्रकृतिअनुसार सुरक्षा घेरा, प्रवेश–निगमन मार्ग, मतदाताको लाइन व्यवस्थापन र मतपेटिका सुरक्षित राख्ने स्थानको छुट्टाछुट्टै योजना बनाइएको छ । डिएसपी थपलियाका अनुसार विद्यालय भवनमा कक्षाकोठा पर्याप्त भए पनि कतिपय स्थानमा घेरबार कमजोर रहेको, खुला चौर र बहुविकल्पीय प्रवेश मार्ग हुँदा अतिरिक्त सुरक्षा सतर्कता आवश्यक रहेको छ ।
मतदान स्थलसम्म पहुँच मार्ग साँघुरो रहेको, ग्रामीण भेगमा सडक कच्ची रहेको तथा उच्च भूभागमा रहेका स्थलमा मौसमजन्य जोखिमलाई समेत ध्यानमा राखिएको छ । हुरी, वर्षा वा हिमपातको सम्भावनालाई ध्यान दिँदै वैकल्पिक सुरक्षा र ढुवानी योजना बनाइएको उहाँले बताउनुभयो । मतदान स्थल सुरक्षाका लागि नेपाल प्रहरी २६० जना र निर्वाचन प्रहरी ६२५ जना खटाइने जिल्ला प्रहरी कार्यालय मुगुको योजना रहेको छ । गाडी मोबाइल गस्तीका लागि छ वटा टोली परिचालन गरिने छ ।
निर्वाचनअघि हातहतियार सङ्कलन, फरार व्यक्तिको खोजतलास, उम्मेदवार र निर्वाचन अधिकृतको कार्यालय सुरक्षा तथा राजनीतिक दलसँग समन्वयलाई तीव्र बनाइएको छ । मतदानका दिन अस्पताल, एम्बुलेन्स सेवा तैथानी अवस्थामा राखिने छ । मतदानपश्चात् मतपेटिका ढुवानी उच्च सुरक्षा घेराभित्र गरिनेछभने मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था गरिने प्रहरीले जनाएको छ ।