सुर्खेत समाचारदाता
सुर्खेत, फागुन ६ गते । पछिल्लो समयमा बालबालिका तथा किशोरकिशोरीमा मानसिक समस्या बढ्दो छ । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा दैनिक १० जनासम्म बालबालिका तथा किशोरकिशोरी मानसिक समस्याको उपचार सेवा लिन आउने गरेका छन् । जसका कारण मानसिक स्वास्थ्यको समस्या बढ्दै गएको देखिएको हो ।
स्वास्थ्य सेवा निर्देशनालय र मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको सिएमसी नेपालले आयोजना गरेको एक कार्यक्रममा प्रदेश अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शीले दैनिक १० जनासम्म किशोरकिशोरी तथा बालबालिका मानसिक स्वास्थ्य समस्याको उपचार सेवा लिन आउने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार विगतमा दैनिक दुई/तीन जनासम्म सेवा लिन आउने गरेकामा अहिले १० जनासम्म आउने गर्दा अवस्था जटिल बन्दै गएको छ । उहाँले तनाव व्यवस्थापनको उपाय नसिकाउँदा, दुव्र्यसन तथा कुलतको सिकार बन्दा मानसिक स्वास्थ्यको समस्या बढ्दै गएको बताउनुभयो । विद्यालयमा अध्ययन गर्ने बालबालिका नै कुलतमा फस्दा कक्षाकोठा रित्तिन पुगेको पनि उहाँको भनाइ छ । बालबालिका तथा किशोरीहरूलाई यसबाट बचाउनका लागि घर, समाज र विद्यालय तहमा अभिभावक तथा शिक्षकहरूलाई रोकथामका बारेमा सुसूचित गराउन ढिला गर्न नहुने सुझाव उहाँले दिनुभयो ।
सिएमसी नेपालका अनुसार कर्णालीमा ११.७ प्रतिशतमा आजीवन मानसिक स्वास्थ्यको समस्या रहेको छ । मानसिक स्वास्थ्यको समस्यामा चिन्ता ४२ र डिप्रेसन २३ प्रतिशत रहेको छ । नेपालमा मानसिक स्वास्थ्य समस्या भएका ७० प्रतिशतले मानसिक स्वास्थ्य सेवाको पहुँच पाउन नसकेको जनाइएको छ । सिएमसी नेपालका नीति, रणनीति तथा सुशासन प्रमुख हिमाल गैरेले कर्णाली प्रदेशका ३० वटा स्थानीय तहमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार हरेक आठ जनामध्ये एक जनामा मानसिक स्वास्थ्यको समस्या हुने गरेको छ । मुख्यतः दुव्यर्सन, चिन्ता र डिप्रेसनका कारण किशोरकिशोरी तथा बालबालिकामा मानसिक स्वास्थ्यको समस्या देखिएको पाइएको छ । उहाँले कर्णालीमा कार्यक्रम लागु भएको तीन वर्षको अवधिमा कर्णालीमा एक हजार पाँच सयभन्दा बढीलाई मानसिक स्वास्थ्यको सेवा प्रदान गरिएको बताउनुभयो भने मानसिक स्वास्थ्यको उपचारका लागि सात सयभन्दा बढी जनशक्ति उत्पादन गरिएको उल्लेख गर्नुभयो ।
स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले विगतको तुलनामा तीन वर्षको अवधिमा कर्णालीमा मानसिक स्वास्थ्यको उपचार सेवालगायत सचेतनामा वृद्धि भएको जानकारी दिनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव धोलकराज ढकालले सुरुमा सामान्य मानिएको मानसिक स्वास्थ्यको समस्या जटिल बन्दै गएको बताउनुभयो । उहाँले यसको रोकथामका काम पनि भइरहेको जानकारी दिँदै त्यो अपर्याप्त देखिएको उल्लेख गर्नुभयो ।