• ६ फागुन २०८२, बुधबार

नागुवासीका माग सम्बोधन गर्न उम्मेदवार प्रतिबद्ध

blog

स्थानीयका माग सम्बोधन गर्न बसेको भर्चुअल बैठक ।

खलङ्गा समाचारदाता 

खलङ्गा (दार्चुला), फागुन ६ गते । प्रतिनिधि सभाको निर्वाचनमा भाग नलिने तथा कुनै पनि उम्मेदवारलाई मत नदिने निर्णय गरेका नौगाड गाउँपालिका–१, नागुका बासिन्दाको माग सम्बोधन गर्न सबै दलका उम्मेदवार एकजुट भएका छन् । 

स्थानीयले निर्माणाधीन अवस्थामा रहेको दल्लेख–नागु–सिना सडकखण्डको निर्माण लामो समयदेखि रोकिनुको कारण, शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटोको निकै समस्या रहेको तथा राजनीतिक दलका नेताको दृष्टि नपरेको भन्दै सङ्घर्ष समिति गठन गरेर यसअघि माघ १ गते कुनै पनि उम्मेदवारलाई मत नदिने निर्णय गरेका थिए ।

दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएका सबै दलका उम्मेदवारले नागुवासीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । 

सोमबार बेलुकी दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको सहजीकरणमा यहाँका उम्मेदवार, नागुका स्थानीय तथा सङ्घर्ष समितिका अध्यक्ष करनसिंह डडाल, नौगाड गाउँपालिकाका अध्यक्ष दलजितसिंह धामी र वडा नम्बर १ का वडाध्यक्ष हरिलाल महता सहभागी भर्चुअल बैठकमा उम्मेदवारले स्थानीयका माग सम्बोधन गर्ने विषयमा प्रतिबद्धता जनाएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी विनोद दाहालले जानकारी दिनुभयो । 

नागु क्षेत्रको समग्र विकासका लागि सङ्घीय, प्रादेशिक निकायले यथासक्य प्राथमिकता दिने, सडक पूर्वाधारका सम्बन्धमा विजेता उम्मेदवारले सङ्घीय, प्रादेशिक विकासका तालुक निकायमा पैरवी, सहजीकरण, प्राथमिकता दिलाउन अधिकतम रूपमा पहल गर्ने प्रतिबद्धता गरेका छन् । उपविजेता उम्मेदवारले नागुवासीको पूर्वाधार विकासको अपेक्षालाई नैतिक, भावनात्मक रूपले साथ, सहयोग र समर्थन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । यस्तै बैठकमा व्यास गाउँपालिका–२, राप्ला र दुम्लिङ क्षेत्रका बासिन्दाको दैनिक जनजीवनका विषयसँग सम्बन्धित चासोलाई वडा, पालिका र जिल्लास्तरले यथाशक्य रूपमा सम्बोधन गर्ने निर्णय गरिएको छ । 

प्रजिअ पौडेलको अध्यक्षतामा भएको भर्चुअल बैठकमा जिल्ला अदालत दार्चुलाका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत भुवन गिरी सहभागी रहनुभएको थियो । बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचनको शान्तिसुरक्षा सम्बन्धमा समेत छलफल गरिएको उहाँले बताउनुभयो । दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका लागि एमालेका गणेशसिंह ठगुन्ना, नेपाली कांग्रेसका धर्मानन्द जोशी, नेपाली कम्युनिस्ट पार्टीका लक्ष्मणदत्त जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशसिंह सामन्त, राप्रपाका राजेश चन्द, नेपाल कम्युनिस्ट पार्टी माओवादीका नवराज भट्ट, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्ना, आमजनता पार्टीका प्रेमसिंह बडाल, नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावल, नेपाल कम्युनिस्ट पार्टी संयुक्तका विद्यादेव जोशी र राष्ट्रिय जनमोर्चाका बिर्खराज पन्त उम्मेदवार हुनुहुन्छ ।  

दार्चुलाबाट २०६४ सालमा तत्कालीन माओवादीका नेता लक्ष्मणदत्त जोशी, २०७० र २०७४ सालमा एमालेका गणेशसिंह ठगुन्ना र २०७९ सालमा कांग्रेसका दिलेन्द्रप्रसाद बडू विजयी हुनुभएको थियो । गौरीशङ्कर मावि मतदान केन्द्र नागुमा जम्मा ६०२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकृत प्रदीपसिंह धामीले जानकारी दिनुभयो ।