धनगढी समाचारदाता
धनगढी, फागुन ६ गते । आफ्नै गृहक्षेत्रमा दुई पटक नेपाली कांग्रेसका उम्मेदवारसँग पराजय भोगेका नेकपा (एमाले) का उम्मेदवार लेखराज भट्ट यस पटक निकै मेहनतका साथ चुनाव जित्ने कसरतमा लाग्नुभएको छ ।
विसं २०६४ यता प्रत्येक निर्वाचनमा कैलाली क्षेत्र नं. ४ बाट चुनाव लड्दै आएका उहाँ गुमेको विरासत जोगाउन कस्सिनुभएको हो । पाँचौँ पटक उम्मेदवार बनेका भट्ट मतदाताको मन जित्न बस्ती बस्तीसम्म डुलिरहनुभएको छ ।
पूर्वमन्त्री तथा एमालेका उपमहासचिवसमेत रहेका भट्टसँगै नेपाली कांग्रेसका गोरखबहादुर विष्ट (आनन्द), नेपाली कम्युनिस्ट पार्टीका हरिप्रसाद चौधरी (उत्सव) चुनावी मैदानमा हुनुहुन्छ ।
विसं २०६४ र २०७४ को निर्वाचनमा भट्ट विजयी हुनुभएको थियो । २०७० को निर्वाचनमा कांग्रेसका दीर्घराज भाट र २०७९ मा कांग्रेसकै वीरबहादुर बलायरसँग पराजित हुनुभएको थियो । सधैँ जसो राष्ट्रिय राजनीतिमा पकड जमाउन सफल उहाँ भेटघाट र घरदैलोमा व्यस्त हुनुहुन्छ ।
क्षेत्र नं. ४ मा यस पटकको निर्वाचनका लागि माहोल धेरै राम्रो बनिसकेको एमालेका सो क्षेत्रका चुनावी कमान्डर सन्तोषकुमारी शर्माले बताउनुभयो । उहाँले आफ्नो पार्टीको उम्मेदवार जित्ने दाबी गर्दै प्रतिस्पर्धा भने कांग्रेससँगै हुने उल्लेख गर्नुभयो ।
दुई पटक बाजी मारेको कांग्रेसले यस पटकको चुनावी मैदानमा अमेरिकाबाट फर्किनुभएका विष्टलाई उतारेको छ । कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, युवा, समावेशितालगायतका क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धताका साथ विष्टले पनि मतदाताको मन जित्ने प्रयास गरिरहनुभएको छ । प्रदेश सरकारले तोकेको राजधानी स्थलमा पूर्वाधार निर्माणका लागि निर्णायक पहल गर्ने पनि उहाँको प्रतिबद्धतामा समेटिएको छ । अघिल्लो निर्वाचनमा जितेका सो पार्टीका बलायरले पनि राजधानी निर्माणको विषयलाई चुनावी एजेन्डा बनाउनुभएको थियो ।
नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश समितिका प्रवक्ता सुरत रावत डोटेली कान्छाले क्षेत्र नं. ४ मा कांग्रेसको निरन्तर जितको शृङ्खलालाई कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो । रावतले भन्नुभयो, “यो क्षेत्र कांग्रेस र एमाले दुवै उम्मेदवारका लागि लालकिल्ला हो तर बलियो हामी नै छौँ ।” उहाँले नेकपा र रास्वपा तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने जिकिर गर्नुभयो ।
कांग्रेस, एमालेले दुई÷दुई पटक जित हात पारिसकेको यो क्षेत्रमा यस पटक थारू समुदायका उम्मेदवारलाई जिताउने गरी नेपाली कम्युनिस्ट पार्टी कस्सिएको छ । तत्कालीन नेकपा (माओवादी) पार्टीका हरिप्रसाद चौधरी बाजी मार्ने दाउमा हुनुहुन्छ । पहिलो पटक प्रतिनिधि सभा सदस्य निर्वाचन लडिरहेका उहाँले यसअघि राष्ट्रिय सभा सदस्यको चुनाव जित्नुभएको थियो । आफ्नो पार्टीको उम्मेदवारका पक्षमा माहोल धेरै राम्रो बनेको नेकपाका नेता चुनकुमारी चौधरीले बताउनुभयो । आफ्नो पार्टीको उम्मेदवार जित्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रतिस्पर्धा कांग्रेस, एमालेसँगै हुन्छ ।”