हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), फागुन ६ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा श्रीमानले दाउराले प्रहार गरी श्रीमतीलाई हत्या गरेका छन् । रसुवा जिल्ला उत्तरगया गाउँपालिका–५, घर भई डेरा गरी बस्ने २३ वर्षीय अश्विन थापा मगरले श्रीमती ३१ वर्षीया शान्ति गुरूङलाई सालको काठले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी नवराज न्यौपानेले फागुन ४ गते सोमबार राति घरायसी विवादका कारण श्रीमतीले टाउकोमा प्रहार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको बताउनुभयो ।
सूचना अधिकारी न्यौपानेले भन्नुभयो,‘‘सोहीदिन दिउँसो झगडा भएको रहेछ, मदिरा सेवन गरेको अवस्थामा घटना घटाएको देखिन्छ ।’’ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अभियुक्तलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरिएको छ । अभियुक्त थापामगरले मदिरा सेवन गरी नियमित कुटपिट गर्ने गरेको स्थानीयको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।