नवराज नेपाली
बागलुङ (गलकोट) फागुन ६ गते । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले जेसिज संवादमार्फत आफ्ना एजेण्डा सुनाउनुभएको हो । बागलुङको ऐश्वर्य पार्कमा आयोजना गरेको नागरिकसँग उम्मेदवारको प्रत्यक्ष संवादमा बागलुङ क्षेत्र नम्बर १ का आठ जना उम्मेदवारहरुले आफ्ना विकास र नीतिगत एजेण्डा सुनाउनुभएको थियोे ।
नागरिकका प्रश्नको सवालमा उम्मेदवारहरुले आफूले नीतिगत सुधार गर्दै समृद्ध बागलुङ निर्माणमा भूमिका खेल्ने बताउनुभयएको थियोे । नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका हिरा केसीले जनताको सेवामा ३० वर्षदेखि काम गरिरहेको बताउदै अनुमोदन हुँने अवसर नपाएको बताउनुभएको थियोे । उहाँले बागलुङको भूगोल र समस्या चिनेको नेतालाई भोट हाल्न आग्रह गर्नुभयो ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर श्रीषले बागलुङको पूर्वाधार विकासमा जोड दिने बताउनुभयो । उहाँले सुशासन कायम गर्नका लागि आफुले काम गर्ने बताउदै यहाँको विकास र समृद्धिको सहकार्य बन्न सहयोग पु¥याउने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशील खड्काले नीतिगत सुधार आजको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले पुराना दललाई पन्छाएर नयाँ दलले मात्रै सुशासन कायम गर्न सक्ने बताउनुभयो । खड्काले जेन्जीको सपना पूरा गर्न आफू उद्यमसँगै निर्वाचनमा होमिएको बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार कृष्ण अधिकारीले व्यवस्थालाई सुधार गर्दै संविधानको रक्षाका लागि आफ्नो उम्मेदवारी रहेको सुनाउनुभयो । राप्रपाका उम्मेदवार कल्याण आचार्यले हिन्दु धर्म र राजसंस्थाका लागि अगुवाइ गर्ने धारणा व्यक्त गर्दै बहुमत आउदा हिन्दुराज्य कायम गर्ने उद्घोष गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी माओवादीका उम्मेदवार टेकबहादुर केसीले आजातले जनयुद्दका लक्ष्य पूरा गर्ने काममा लाग्ने बताउनुभयो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार चित्र सापकोटाले परिवर्तनका लागि युवाहरु गोलबद्ध गर्ने र विकास तथा सुशासनका क्षेत्रमा काम गर्ने बताउनुभयो । नेपाल मानवतावादी पार्टीका उम्मेदवार भक्तबहादुर विकले सामाजिक न्यायका लागि परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । बागलुङ जेसीजका अध्यक्ष अन्जिला श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन जेसीसकर्मी एवम् पत्रकार ताराप्रसाद शर्माको सहजीकरणमा सप्पन्न भएको थियोे ।