• ६ फागुन २०८२, बुधबार

नागाबाबालगायत साधुसन्तको बिदाइ

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ६ गते । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ दर्शनका लागि आउनुभएका नागाबाबालगायत साधुसन्तलाई मङ्गलबार दानदक्षिणासहित बिदाइ गरिएको छ । महाशिवरात्रिको अवसरमा भारतलगायत विभिन्न ठाउँबाट फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फागुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाका अनुसार पशुपतिका गोरखनाथ मठ, आर्यघाटपारिको रामचन्द्र मन्दिर, भस्मेश्वर अखडा, निर्मला अखडा र पशुपतिपरिसरका विभिन्न स्थानमा गरी करिब चार हजारभन्दा बढी साधुसन्त नेपालबाहिरबाट आएका छन् । प्रत्येक स्थानमा फरक सम्प्रदायका साधु रहेका उहाँले बताउनुभयो । 

पशुपति विकास कोषका अनुसार बिदाइका लागि संस्थानले करिब ३० लाख रुपियाँ बजेट छुट्याएको छ । रातो, निलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि नागाबाबालगायत साधुसन्तलाई आएकै दिन बाँडिएको थियो । कार्ड बाँडिएका साधुसन्तलाई स्तर अनुसार दक्षिणा दिइने परम्परा रहिआएको छ । नेपालबाहिरबाट आएका नागाबाबा र साधुसन्तलाई नजिकको सीमासम्म पुग्न सकियोस् भनी दक्षिणा बढाइएको संस्थानले जनाएको छ । 

कोषले १०१ देखि पाँच हजार एक रुपियाँसम्म दक्षिणा दिएको छ । कोष सञ्चालक परिषद् सदस्य एवं साधुसन्त सेवा तथा धार्मिक कार्यक्रम व्यवस्था उपसमिति संयोजक शिला पन्तले भन्नुभयो, “कोषले पाँच हजार एक २० साधुलाई, एक हजार एक दुई सय साधुलाई, ७०१ एक हजार साधुलाई, ५०१ एक हजार साधुलाई, ३०१ एक हजार तीन सय साधुलाई, २०१ जोगी सबैलाई र लाइनमा बस्ने जति सबैलाई १०१ दक्षिणास्वरूप दिने छ ।”

पशुपतिनाथ मन्दिरमा २०६८ चैत २६ गते लागु गरिएको भेटीघाटी पारदर्शी तथा पूजा व्यवस्था नियमावलीपछि २०६९ सालको महाशिवरात्रिदेखि पशुपति क्षेत्र विकास कोषले पनि दानदक्षिणा दिई भोजन गराएर नागाबाबा र साधुसन्तलाई बिदाइ गर्न थालेको थियो ।