राममणि दाहाल
मकवानपुर, फागुन ६ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सबै जातजाति र समुदायको संस्कृतिको जगेर्नाको माध्यमबाट पर्यटन विकासका लागि प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार २०८२ को उपलक्ष्यमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदायलगायत सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उहाँले बागमती प्रदेशभित्रका आदिवासी जनजाति शेर्पा समुदायले यस पर्वलाई नयाँ वर्षको रूपमा मनाइरहँदा यसले विशिष्टीकृत सांस्कृतिक पहिचान स्थापित गरेको र परम्परागत मूल्य मान्यता प्राप्त गरेको महसुस गरेको बताउनुभएको छ ।
यस पर्व मान्ने समुदायले आफ्नो घर, गाउँ टोलको सरसफाइ गर्ने, पुरानो ध्वजाको ठाउँमा नयाँ ध्वजा राख्ने, नौ प्रकारका अन्न मिसाइएको परिकार गुथुक र खाप्से जस्ता मिठो परिकारकारसाथमा चाङ्कोल पिउँदै नाचगान गर्ने र आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने गर्दछन् ।
बागमती प्रदेश सरकार प्रदेश भित्र बसोबास गर्ने सबै जात जातिका संस्कृतिहरूको संरक्षण तथा प्रवर्धन गर्दै पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्न सदैव तत्पर रहेको विश्वास दिलाउँदै मुख्यमन्त्री बानियाँले यस पर्वले हामीबिच आत्मियता, आपसी समझदारी, एकता, सामाजिक सद्भाव कायम गर्दै देशको समृद्धि एवम् समुन्नत बागमती प्रदेश निर्माणमा उत्प्रेरणा मिल्ने उल्लेख गर्नुभएको छ ।
साथै यस पर्वले सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई हाम्रो सामाजिक सद्भाव कायम राख्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र सुदृढ गर्न र समाजवादको लक्ष्य हासिल गर्न सबै नेपाली एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्ने अपेक्षा राख्दै मुख्यमन्त्री बानियाँले ग्याल्पो ल्होसार २०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।