रेसुङ्गा समाचारदाता
रेसुङ्गा (गुल्मी), फागुन ६ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत्को राष्ट्रिय प्रसारणको विकासले देशको अर्थतन्त्रमा टेवा पुग्ने बताउनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको कपिलवस्तु–अर्घाखाँची–तम्घास–बुर्तिबाङ राष्ट्रिय प्रसारण लाइनको उनायचौर सबस्टेसन निरीक्षण गर्दै साना, मझौला र ठुला उद्योगलाई पर्याप्त विद्युत् उपलब्ध हुने र पहाडी जिल्लामा कृषिमा आधारित उद्योगको सम्भावना बढेको बताउनुभयो ।
उहाँले राष्ट्रिय प्रसारण लाइनले जिल्लामा पटक पटक विद्युत् अवरुद्ध हुने समस्याको अन्त्य गर्नुका साथै आर्थिक समृद्धिको आशा जगाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्राधिकरणले ठुलो लगानी गरेर राष्ट्रिय प्रसारण लाइन विस्तार गरेपछि उद्योग कलकारखानाले सबैभन्दा बढी फाइदा लिनु पर्छ । गुणस्तरीय विद्युत्संगै आर्थिक गतिविधि पनि अपेक्षा गरेका छौँ ।”
दुई दिन रेसुङ्गा नगरपालिका–७, उनायचौर सबस्टेसनदेखि बागलुङ बुर्तिबाङसम्मको १३२ केभी राष्ट्रिय प्रसारण लाइनको दुई दिन परीक्षण गरी नियमित सञ्चालन गरिएको छ ।