- कृषिप्रधान देश भएर पनि किसानका कुरा सुन्ने र कृषिका योजना ल्याएर पूरा गर्ने नेता भेट्टाउन अहिलेसम्म नसकेको मतदाताको गुनासो
- युवालाई काम गर्न पुग्ने खालको कुनै उद्योगधन्दा नहुँदा काम पाइँदैन, बाहिर ज्याला ग¥यो उतै बस्दाको खर्च पुग्दैन, यो कुरा नेताले खै बुझेको ?
चाँदनी हमाल/जनार्जन खत्री
काठमाडौँ, फागुन ६ गते । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जनतासँग मत माग्न सर्लाही क्षेत्र नम्बर ४ का विभिन्न दलका उम्मेदवारलाई भ्याइनभ्याई छ । प्रचारप्रसार खुला भएसँगै ठाउँ ठाउँमा दलका झन्डासहितका ध्वजापताका फहराउन थालेका छन् । आफ्नै शैलीमा घरदैलो र बाजागाजासहित पनि उम्मेदवार मतदाताका घर घर पुगिरहेका छन् तर उम्मेदवारमा जस्तै यहाँका जनतामा ठुलै उत्साह भने देखिन्न ।
अधिकांश मतदाता यतिखेर उखु काटेर बिक्री गर्नुपर्ने चटारोमा छन् । खाली भएका खेत पटाएर नयाँ बालीका लागि तयार गर्नु किसानको अर्को चटारो छ । देशकै उर्वरमध्येको एक मानिने सर्लाही जिल्ला उखु, तरकारी, मकै, धान, गहुँलगायत प्रमुख बाली लगातार लाग्ने र फल्ने जिल्लाका रूपमा गनिन्छ तर उत्पादित अन्नपातले बजारभाउ पाउन र किसानको हातमा त्यो पुग्न भने ‘आकाशको फल आँखा तरी मर’ भन्ने उखान जस्तै हुन्छ ।
उक्त निर्वाचन क्षेत्रमा पर्ने बरहथवा–१३ का नागेन्द्र मण्डलको दुई बिघा खेतमा पनि धमाधम उखु कटाइ चल्दै छ । काटिसकेका उखु बयलगाडामा बोकेर उहाँ भने उखु जोख्ने काँटामा पालो कुर्दै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गाउँमा मत माग्न नेताहरू आएकोआयै हुनुहुन्छ, मलाई भने उखु कहिले जोखिसक्नु र लगेर मिलमा बेच्नु भन्ने पीर छ ।” उहाँका अनुसार अहिलेको निर्वाचन जनता र नेताका लागि पनि उत्तिकै महत्वको छ । कृषिप्रधान देश र किसानका कुरा सुन्ने र कृषिका योजना ल्याएर पूरा गर्ने नेता भेट्टाउन अहिलेसम्म नसकेको दुखेसो उहाँ पोख्नुहुन्छ ।
दुई वटा काँटा बनाइदिनुस् गाह्रो भयो भनेर मत माग्न आउने उम्मेदवारलाई पहिले पनि र अहिले पनि भनेको उहाँले सुनाउनुभयो । उहाँ जस्तै किसानको मर्का किसानलाई मात्र थाहा भएको तर उम्मेदवारले कहिल्यैै नबुझेको बसबरिया गाउँपालिका–१ का करणजित यादव गुनासो गर्नुहुन्छ । किसानमैत्री सरकार आफूहरूलाई चाहिएको धारणा उहाँ राख्नुहुन्छ । यहाँको उखुबाटै नेपालको केही हदसम्म चिनी र सख्खरको माग धानिन्छ । राम्ररी खेती गर्न र मूल्य पाउने हो भने किसानले थप उत्पादन दिने क्षमता राख्छन् ।

उखु जोख्ने काँटामा पालो कुर्दै सर्लाहीका उखु किसान
पछिल्लो चुनावी माहोलका बारेमा नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहबिच कडा टक्कर हुने बुझाइ उहाँहरूको छ । जेनजी उमेरका राहुल राउतको भने फरक मत छ । गाउँको विद्यालयमा पढाइ राम्रो नहुँदा र अन्त खर्च तिर्न नसक्दा आठ कक्षामै उहाँले पढाइ छाड्नुभयो । किसानी कामले घरकै समस्या टार्न मुस्किल हुँदा गाउँका धेरै युवा विदेश भासिएको र आफू पनि पायो भने जाने मन बनाउनुभएको छ । उहाँ भन्नुहुन्छ, “सर्लाही युवालाई काम गर्न पुग्ने खालको कुनै उद्योगधन्दा नहुँदा काम पाइँदैन, बाहिर ज्याला ग¥यो उतै बस्दाको खर्च पुग्दैन, यो कुरा नेताले खै बुझेको ?”
धनकौलका नयाँ मतदाता रजनेश रायले आफूलाई भविष्यमा गाउँ छाड्न नपर्ने गरी काम दिने र यहाँ विकास र सुविधा बढाउने नेतालाई मत दिने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आउन त गगन थापा, अमरेशकुमार सिंह, अमनिश यादवलगायतका सबै आउनुभएको छ, अब हेरौँ अझै के के भन्नुहुन्छ र पूरा गर्छ जस्तो लाग्छ कि लाग्दैन ।”
महिलाका पीडा कुनै नेताले बुझेनन्
महिला मतदाताको कुरा झन् फरक छ । घन्टी, गाछी, सुरज छाप भएका सबै नेता गाउँमा आएका छन् । महिलाको समस्या सुधार्न कसैले केही नभनेको गुनासो उहाँहरू गर्नुहुन्छ । उहाँले भन्नुभए जस्तै जनसङ्ख्याले आधा बढी आकाश ढाकेको महिलाका बारेमा उम्मेदवारले कुनै प्रतिबद्धता जनाउन नसकेको दुखेसो देशव्यापी महिला मतदाताकै छ ।
उखुबारीमा भेटिनुभएकी रेखादेवी महताले सुनाउनुभयो, “गाउँमा राम्रो स्वास्थ्य चौकी छैन, बच्चा अड्कियो भने वीरगन्ज पुग्नु पर्छ, हुर्केको बच्चाले सरकारी स्कुलमा राम्रो पढ्न पाउँदैनन्, शिक्षक छैनन् ।” दुई छोरा र दुई छोरीकी आमा उहाँ गरिब मत दिएर पनि भोकै मर्नुपर्ने, अनेक पीडा सहनुपर्ने, महिलाले पीडा कम भएर सुख पाउने दिन नेताले ल्याउँछन् भनेर विश्वास गर्न नसकिने बताउनुहुन्छ ।
अब कस्तो छान्ने गम्दै मतदाता
सर्लाही–४ मा दक्षिण पश्चिम बेल्टका सात वटा पालिकाका एक लाख २१ हजार मतदाता छन् । अधिकांश भारतको सीमाक्षेत्र जोडिएका पालिका भएकाले पनि भविष्यमा भारतसँगको सम्बन्ध विस्तारमा यो क्षेत्रमा जित्ने उम्मेदवारले ध्यान दिनुपर्ने हुन्छ । अझ उखु तथा खाद्य बाली लाउने किसानको वर्चस्व भएकाले किसानमैत्री नेता बन्नुपर्ने हुन्छ । त्यसका लागि अहिलेसम्म कसले यो ठाउँमा उठे, कसको पालामा कति पटक उठे, जिते र के काम गरे भनेर बुझ्झकी मतदाता भने विश्लेषण गर्न लागिपर्नुभएको छ । यहाँ नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंह, नेकपा एमालेका अमनिश यादव, जसपाका रामेश्वर रायलगायतका उम्मेदवार रहनुभएको छ ।
दुई खुट्टा राम्ररी नचल्ने शिवाजी दासलाई सबैभन्दा धेरै उम्मेदवारले घरमै भेट्नुहुन्छ । बढीजसो गगन थापा र अमरेशकुमार सिंह मत माग्न आइरहनुभएको सुनाउनुभयो । उहाँले सुनाउनुभयो, “एक जना पुरानै नेता हुनुहुन्छ, अर्को पहिलोपल्ट मधेशीसँग मत माग्न आउनुभएको छ भने दुवैमध्ये एकलाई त दिनैपर्छ, अरू उम्मेदवारको त्यति धाक छैन यो पाला ।”
दश बिघामा लगाएको मकैखेती स्याहार्दै भेटिनुभएका ज्वार शाहलाई भने देशभक्त नेता चाहिएको छ । उहाँ भन्नुहुन्छ, “आफ्नो देशप्रति माया हुनेले नै देशवासीप्रतिको जिम्मेवारी बुझ्छ, नत्र सबै जना एक दिन मत मागेर त्यसपछि फर्केर नआई कुर्सीमै टाँसिएर बस्ने गरेका छन् ।”